काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आगामी एक हप्तासम्म नेपालका अधिकांश क्षेत्रमा मनसुनी वर्षा सक्रिय रहने सम्भावना रहेको छ ।
विशेषगरी मध्य पहाडी क्षेत्रमा राम्रो वर्षा हुने देखिएको छ । यद्यपि मधेस प्रदेशको जनकपुर आसपासका क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा मात्र हुने सम्भावना छ । मौसमविद्का अनुसार हालको प्रणालीको मुख्य प्रभाव साउन २ गते (शनिबार साँझ) देखि साउन ५ गते (मंगलबार) सम्म बढी देखिनेछ ।
यस अवधिमा धेरै स्थानमा निरन्तर तथा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । हालसम्म देशभर करिब ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको अवस्थामा आजदेखि आगामी एक हप्ता बाँकी रहेको रोपाइँ सम्पन्न गर्न उपयुक्त समय हुने अनुमान गरिएको छ ।
यसैबीच, काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा पछिल्लो ३ घण्टामा ४९ मिलिमिटर वर्षा मापन हुँदा उक्त क्षेत्र जलमग्न भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पछिल्लो ३ घण्टामा ७० मिलिमिटर वर्षा मापन भएको छ, जुन भारी वर्षाको नजिक मानिन्छ । त्यसैगरी लमजुङको लुम्ले क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भाग नेपाल नजिक रहेको छ भने पूर्वी भाग औसत अवस्थामै रहेको मौसम विश्लेषणले देखाएको छ । यसका कारण आगामी एक हप्तासम्म देशभर वर्षाको आवृत्ति बढ्ने र धेरै स्थानमा वर्षा हुने सम्भावना बलियो रहेको छ ।
प्रतिक्रिया