सिपाघाट, काभ्रे । मण्डनदेउपुर नगरपालिका–६, सिपाघाट क्षेत्रमा पालिएका पशुहरूमा लम्पी स्किन डिजिज (LSD) रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले रोगको सम्भावित संक्रमण तथा फैलावट रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मण्डनदेउपुर नगरपालिकाको पशुपन्छी विकास शाखाले सूचना जारी गर्दै वडा नं. ६, सिपाघाट क्षेत्रबाट २०८३ साल भाद्र मसान्तसम्म गाई, गोरु, बाच्छाबाच्छीलगायत पशुहरूको खरिद–बिक्री तथा पशु ओसारपसार नगर्न/नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।
नगरपालिकाका अनुसार हाल सिपाघाट क्षेत्रका पशुहरूमा लम्पी स्किन डिजिज (LSD) रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका छन् । रोगको सम्भावित संक्रमण र फैलावटलाई मध्यनजर गर्दै रोग नियन्त्रण तथा रोकथामका लागि आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पशुपालक कृषक, पशु व्यवसायी, पशु संकलनकर्ता तथा सरोकारवालाहरूलाई सूचना पालना गर्न आग्रह गरेको छ ।
त्यसैगरी, कुनै पशुमा ज्वरो आउने, शरीरमा गाँठागुँठी देखिने, छालामा घाउ तथा डाबर आउने, दूध उत्पादन घट्ने वा पशु सुस्त हुने जस्ता लक्षण देखिएमा तत्काल वडा पशु सेवा प्राविधिक वा मण्डनदेउपुर नगरपालिकाको पशु सेवा शाखामा जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालद्वारा जारी सूचनामा रोगको सम्भावित संक्रमण रोक्न सबै पक्षबाट आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । नगरपालिकाले रोग फैलिन नदिन पशु ओसारपसार नियन्त्रणसँगै पशुपालकहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ ।
File photo
प्रतिक्रिया