• २०८३ भाद्र २१ | Sun, 06 Sep 2026

रसुवा–नुवाकोटमा खोज तथा उद्धारमा नेपाली सेनाले के के गर्दैछ ?

रसुवा–नुवाकोटमा खोज तथा उद्धारमा नेपाली सेनाले के के गर्दैछ ?

नुवाकोट । रसुवा, नुवाकोटसहित बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएकाे छ । भाद्र २० गते साँझ ७ बजेसम्म नेपाली सेनाले हवाईमार्फत विभिन्न प्रभावित क्षेत्रबाट २ जना विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन् । सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत २७५ जना विदेशी नागरिकसहित कुल ३ हजार ९९७ जनाको उद्धार गरिएको छ । यसैबीच, नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज जडान गर्ने कार्य अघि बढाएको छ । पुल जडानका लागि ५५ जना सैनिकको टोली परिचालन गरिएको छ ।

जलविद्युत् आयोजनाका सुरुङमा खोजी जारी
बाढी तथा पहिरोका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत निरन्तर भइरहेको छ । रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले खोजी गर्दै पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गरेको भए पनि हालसम्म कोही फेला परेको छैनन् । पावर हाउसको पाँचौँ तलासम्म लेदोले भरिएको अवस्थामा रहेकाले थप खोजी कार्य जारी राखिएको छ ।

त्यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीनवटा बबक्याट र जेनेरेटरको प्रयोग गरी खोजी कार्य गरिरहेको छ। अडिट–२ टनेलबाट एक्स्काभेटर प्रवेश गर्न सक्ने गरी बाटोसमेत सफा गरिएको छ । चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ । टोली पुनः सुरुङभित्र १०५ मिटरभित्रसम्म पुगेको र खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

एक चिनियाँ नागरिकको जीवित उद्धार
यसैगरी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङबाट एक चिनियाँ नागरिकको जीवित उद्धार गरिएको छ। विदेशी नागरिकसहितको संयुक्त उद्धार टोलीले सुरुङको करिब २५० मिटरभित्रबाट चिनियाँ नागरिक Lu Haitao लाई जीवित उद्धार गरेको हो। सोही क्रममा थप दुईवटा शवसमेत फेला पारेर उद्धार गरिएको जनाइएको छ। सुरुङभित्र रहेको लेदो हटाउँदै थप व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

प्रभावित क्षेत्रमा पैदल गस्ती र स्वास्थ्य सेवा
नेपाली सेनाले प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्ती गर्दै खोज तथा उद्धार कार्य गरिरहेको छ । प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट भाद्र २० गते मात्रै ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । सेनाका अनुसार हालसम्म ती स्वास्थ्य सेवा केन्द्र तथा मेडिकल पेट्रोलमार्फत ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन् ।

९ हजार ३ सयभन्दा बढी सैनिक प्रभावित क्षेत्रमा परिचालन
बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ ।रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म सेनाले समन्वयात्मक रूपमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेको जनाएको छ । विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षा निकायसहित विभिन्न निकायको समन्वयमा अभियान निरन्तर सञ्चालन भइरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २१, आईतवार ०७:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP