काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत् उत्पादनमा मात्रै १६ अर्ब ३४ करोड रुपियाँ बराबरको क्षतिको अनुमान गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले औँल्याए अनुसार विद्युत् उत्पादन र सो उत्पादनपछि प्राप्त हुने रोयल्टीसमेत गुम्न पुग्दा १६ अर्ब ३४ करोड ६९ लाख रुपियाँको क्षति हुने देखिएको हो ।
प्रतिवेदन अनुसार बाढी तथा पहिरोका कारण वार्षिक दुई हजार ७३९.४८ गिगावाट घण्टा विद्युत् उत्पादनमा कमी आउने छ । जलविद्युत्, सौर्य ऊर्जा उत्पादन र ऊर्जा रोयल्टीमा हुने क्षतिसमेत जोड्दा ऊर्जामा यस्तो आर्थिक क्षति हुने प्रारम्भिक मूल्याङ्कन गरिएको हो ।प्रतिवेदन अनुसार जलविद्युत् उत्पादनतर्फ वार्षिक दुई हजार ५२० गिगावाट घण्टा विद्युत् उत्पादन गुम्ने छ । यसबाट १४ अर्ब ८२ करोड रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ ।
त्यस्तै सौर्य ऊर्जा उत्पादनमा वार्षिक २१०.४८ गिगावाट घण्टा कमी आउने र त्यसबाट एक अर्ब २३ करोड ८४ लाख रुपियाँ बराबरको क्षति हुने जनाइएको छ । ऊर्जा रोयल्टीतर्फ थप २८ करोड ८५ लाख रुपियाँ क्षति हुने अनुमान छ । नेपाल विद्युत् प्राधिकरणको उत्पादन निर्देशनालय प्रमुख उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार वार्षिक ऊर्जा उत्पादनको क्यालेन्डर र आयोजना र प्रसारण लाइनमा भएको क्षतिले प्रभावित हुने उत्पादन हिसाब गर्दा योखाले क्षति भएको हो । “विद्युत् उत्पादनमा रहेका क्षतिग्रस्त आयोजना, निर्माणाधीन आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण प्रणालीमा ल्याउन नसकिने आयोजनाको विद्युत्को हिसाब गर्दा यस्तो क्षति आकलन भएको हो,” उहाँले भन्नुभयो ।
बाढीका कारण सञ्चालनमा रहेका १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, २२ मेगावाटको चिलिमे जलविद्युत्, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत् २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजना क्षतिग्रस्त भएर विद्युत् उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसबाहेक परीक्षण उत्पादनकै क्रममा रहेका २० मेगावाटको लाङटाङखोला जस्ता यसै वर्ष प्रणालीमा जोडिने तय भएका आयोजना पनि क्षतिग्रस्त हुँदा ऊर्जामा नोक्सानी भएको हो । कतिपय सञ्चालनमै रहेका आयोजना आफैँमा क्षति नभए पनि प्रसारण लाइन नै क्षतिग्रस्त भएका कारण विद्युत् उत्पादन नगर्नुपर्ने अवस्थामा पुगेका छन् ।
अप्पर सान्जेन र सान्जेन जलविद्युत्को ५७.३ मेगावाट सुपर सान्जेनको ७८ मेगावाटलगायत केही आयोजनाको बिजुली प्रसारण लाइन बग्दाका कारण खेर जाने अवस्था छ । “प्रसारण लाइन पुनर्निर्माण त अबको एक वर्षमा हुन सक्ला,” उहाँले भन्नुभयो, “तर रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजना पुनर्निर्माणका लागि केही वर्ष लाग्दा यो ऊर्जाको क्षति आगामी वर्षमा पनि बेहोर्नुपर्ने हुन्छ ।”
तीन खर्ब नब्बे अर्ब रुपियाँ आवश्यक
सो प्रतिवेदनमा क्षति बेहोरेको ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन करिब तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो रकममध्ये छ महिनाभित्रै गर्नुपर्ने कामका लागि एक अर्ब पाँच करोड रुपियाँ आवश्यक पर्नेछ । तत्कालीन पुनस्र्थापना योजना अन्तर्गत प्रसारण प्रणाली पुनर्स्थापनाका लागि ५९ करोड रुपियाँ, सबस्टेसनका लागि ४० करोड रुपियाँ, वितरण प्रणालीका लागि १० करोड रुपियाँ र माइक्रो–हाइड्रोतर्फ पाँच करोड रुपियाँ आवश्यक हुने औँल्याइएको छ ।
बाँकी तीन खर्ब ८९ अर्ब ५७ करोड ३० लाख रुपियाँ दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले यी आकलन विस्तृत आयोजना लागत नभई प्रारम्भिक तथा सूचकात्मक योजना आवश्यकताको अनुमानका आधारमा तय गरिएको जनाएको छ । माइक्रो–हाइड्रोसम्बन्धी कामलाई घरायसी नवीकरणीय ऊर्जा कार्यक्रमसँग समन्वय गरेर अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसबाट एउटै काममा दोहोरो खर्च हुन नदिने र पुनर्स्थापना कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।गाेरखापत्रबाट
प्रतिक्रिया