• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैङ्कको अनुमान

नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैङ्कको अनुमान

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो ।

दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मङ्गलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरिएको छ । आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो ।

जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् निर्माणमा बाधा पुर्याउने प्रक्षेपण विश्व बैङ्कको छ ।

धान उत्पादन हुने मुख्य क्षेत्रमा ढिलो भएको वर्षाले कृषि क्षेत्रलाई बाधा पुर्याउने तर पुनर्निर्माण प्रयासले पुनर्लाभलाई समर्थन गर्ने र आव सन् २०२७/२८ मा गति लिने अपेक्षा गरिएको छ । सन् २०२६ मा भने नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कको छ । यो प्रतिवेदनले नेपालमा एक महिनाअघि भएको जेनजी आन्दोलनको क्षतिलाई ध्यानमा राख्दै यस्तो प्रक्षेपण गरेको हो ।

सरकारी र निजी क्षेत्रले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सार्वजनिक सम्पत्तिमा एक खर्ब र सङ्गठित निजी क्षेत्रको सम्पत्तिमा ८० अर्ब रुपियाँ बराबरको क्षति पुगेको छ । यसका निजी क्षेत्रको क्षतिको दायित्व बिमा कम्पनीबाट हुने भए पनि सरकारी भौतिक सम्पत्तिको बिमा नभएका कारण क्षतिको सम्पूर्ण दायित्व सरकारको थाप्लामा परेको छ ।

भुटान सबैभन्दा माथि
प्रतिवेदन अनुसार सन् २०२६ मा दक्षिण एसियाली देशमा भुटानको आर्थिक वद्धिदर सबैभन्दा बढी ७.३ प्रतिशत रहने छ । त्यसपछि भारतको ६.५ प्रतिशत, बङ्गलादेशको ४.८ प्रतिशत, माल्दिभ्स ३.९ प्रतिशत र श्रीलङ्काको ३.५ प्रतिशत रहने प्रक्षेपण छ । विश्व बैङ्कले यस प्रतिवेदनमा पाकिस्तानलाई समावेश गरेको छैन । प्रतिवेदनले नेपालमा जेनजी आन्दोलन जस्तै बङ्गलादेश र श्रीलङ्कामा भएका आन्दोलनको पनि विश्लेषण गरेको छ । प्रतिवेदनको मुख्य विषय भने रोजगारी, कृत्रिम बौद्धिकता र व्यापार रहेको छ । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २२, बुधबार ०२:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP