काठमाडौँ। माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरेका छन् । बुधबार राजधानीको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गर्दै उनीहरूले एकीकृत पार्टी घोषणा गरेका हुन् ।
नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकीकृत पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको हो ।
एकता राष्ट्रिय सम्मेलनबाट प्राप्त सुझावका आधारमा अन्तरिम विधान र घोषणापत्र सर्वसम्मतिले पारित गरिएको छ । केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिइएको छ ।
एकतामा सामेल सबै पार्टी–नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन गर्ने प्रस्ताव पारित भएको छ । यसबाहेक त्यसअगाडि सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय भएको छ ।

एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य भएका छन् । एकतापूर्वका दलको चुनाव चिह्नबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि भएका छन् । पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुने निर्णय छ ।
नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले एकीकृत पार्टी देशकै ठूलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनीहरूले आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरेका हुन् । साथै, एकीकृत पार्टीमा जोडिन सम्पूर्ण वामपन्थी शक्तिलाई उनीहरूको सामूहिक आह्वान छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव नेपाललगायतका नेताले एकतालाई ऐतिहासिक कदमको संज्ञा दिँदै अब अभियान लिएर जनताकहाँ जाने र चुनावी तयारी पनि सँगसँगै गर्ने बताएका छन् । एकता मञ्चबाट उनीहरूले सम्पूर्ण कम्युनिस्ट घटकलाई एकता प्रक्रियामा आउन आह्वानसमेत गरेका छन् ।नयाँ पत्रिकाबाट
प्रतिक्रिया