• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

नेपालीको सुन मोह बढ्याे : तोलाकै साढे दुई लाख पुग्दा पनि माग बढेकाे बढ्यै

नेपालीको सुन मोह बढ्याे : तोलाकै साढे दुई लाख पुग्दा पनि माग बढेकाे बढ्यै

काठमाडौँ । तोलाकै साढे दुई लाख पुग्दा पनि नेपालीको सुन मोह उत्तिकै चुलिँदो छ। यो बेला खासगरी काँचो सुन किन्नेहरू बढिरहेका छन् । असोजमा मात्रै चार सय किलो सुन आयात गरेकामा ९३ किलो मात्रै मौज्दात भएपछि थप आयातको तयारी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । मंगलबार एकैपटक आठ हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधबार त्यो थप चार सय रुपैयाँले बढेर नयाँ विन्दुमा पुगेको हो । सोमबार भने सुनको मूल्य दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।

भदौ मसान्तमा सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । त्यसअनुसार असोजको २९ दिनमा मात्रै सुनको मूल्य ३३ हजार सात सय रुपैयाँले बढेको छ । यसरी मूल्य बढ्दा पनि सुनको माग भने घटेको छैन ।

आजभन्दा ६ वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार हाराहारी थियो । ०७६ असारसम्म सुनको मूल्य उक्त रेन्जमा थियो । विभिन्न घटनाक्रमले त्यो मूल्य बढ्दै अहिले साढे दुई लाख रुपैयाँनजिक पुगेको छ । तर, अहिले भने सुनको माग पनि उच्च भएको छ ।

महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले सुनको माग बढेको बताए । ‘अहिले सुनको मूल्य उच्च छ । त्यससँगै खपत पनि राम्रो छ । महँगो भयो भनेर मागमा कमी आएको छैन । माग बढेको छ, त्यसमा पनि सुनका गरगहनाभन्दा पनि काँचो सुन खरिद गर्न आउने ग्राहक धेरै छन्,’ उनले भने, ‘सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ । त्यसले गर्दा ग्राहकले अहिले नै सुन खरिद गरेर राख्न खोजेका छन् ।’ नेपालमा सर्वसाधारणलाई काँचो सुन किन्ने कानुनी अधिकार नभए पनि आन्तरिक रूपमा यस्ता कारोबार भइरहेको व्यवसायीहरू बताउँछन् ।

सुन अब सर्वसाधारणको पहुँचभन्दा बाहिर, नेपालीको वार्षिक आम्दानीभन्दा एक तोला सुनको मूल्य धेरै

अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सुन सर्वसाधारण नेपालीको पहुँचभन्दा बाहिर गएको बताए । अब आमनेपालीले सुन किन्न नसक्ने उनको भनाइ छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको असारसम्मको तथ्यांकअनुसार अहिले नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी दुई लाख ६ हजार ४२४ रुपैयाँ छ, प्रतितोला सुनको मूल्य त्योभन्दा धेरै छ ।

बुधबारका लागि तोकिएको सुनको मूल्य एक नेपालीले वर्ष दिनमा कमाउने औसत रकमभन्दा ४२ हजार ४७६ रुपैयाँ धेरै हो । योअनुसार पनि अब न्यून आय भएका आमनेपालीले सहजरूपमा सुन किन्न नसक्ने देखिन्छ ।नयाँ पत्रिकाबाट

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३०, बिहीबार ०२:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP