काठमाडौं । दसैंको अवधिमा देशभर भएका १ हजार ३३९ वटा सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन्। तीव्र गति, मादक पदार्थ सेवन, लागूपदार्थ सेवन र ओभरटेक जस्ता कारणले हुने सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरीले चाडपर्व केन्द्रित सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ।
यस वर्ष असोज २५ देखि कात्तिक ८ गतेसम्मको दसैं अवधिमा भएका दुर्घटनामा मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिका छन् । घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर छ भने २ हजार ५५१ जना सामान्य घाइते भएका छन्। नेपाल प्रहरीले चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने र आवागमनसमेत बाक्लिने भएकाले दुर्घटना रोक्न विशेष सतर्कता अपनाएको जनाएको छ। यात्रुको सुरक्षा, सहज यात्रा र सुरक्षित गन्तव्य सुनिश्चित गर्न यात्रु सहायता कक्ष सञ्चालनदेखि सवारीसाधनको प्राविधिक परीक्षणसम्मका कामलाई प्राथमिकता दिइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र सवारीसाधनको यान्त्रिक अवस्थाबारे जाँच गर्ने व्यवस्था मिलाइएको थियो । लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको परीक्षण गर्न ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) समेत प्रयोग गरिएको उनले बताए।
कोशीमा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम दुर्घटना
नेपाल प्रहरीका अनुसार दसैं अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना कोशी प्रदेशमा भएका छन्। कोशीमा ३९७ वटा दुर्घटना हुँदा मधेश प्रदेशमा सबैभन्दा कम ८० वटा दुर्घटना भएका छन्। प्रदेशगत विवरणअनुसार काठमाडौं उपत्यकामा १७१, बागमती प्रदेशमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा सवारी दुर्घटना भएका छन्।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न देखिएका छन्। प्रहरीको विवरणअनुसार दुर्घटनामा १ हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्र्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन संलग्न भएका छन्। यसरी दुर्घटनामा संलग्न सवारीसाधनको कुल संख्या २ हजार ४८१ पुगेको छ।
गत वर्षको दसैं अवधिमा देशभर १ हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए। यस वर्ष दुर्घटनाको संख्या गत वर्षको तुलनामा कम देखिए पनि मानवीय क्षति र घाइतेको अवस्थाले सडक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधन कारबाहीमा
दसैं अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ सवारीसाधन छन् । त्यसैगरी, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ सवारीसाधन कारबाहीमा परेका छन्। टीसीएसम्बन्धी नियम उल्लङ्घन गर्ने नौ सवारीसाधनलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव महानिरीक्षक काफ्लेले प्रहरीको उद्देश्य कारबाहीमा सीमित नभई यात्रु तथा चालकको सुरक्षा सुनिश्चित गर्नु रहेको बताए। सम्भावित दुर्घटनास्थल पहिचान गरी नियमित तथा आकस्मिक जाँच गर्ने र सडक प्रयोगलाई सुरक्षित तथा व्यवस्थित बनाउने काम भइरहेको उनको भनाइ छ। ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीका १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
चाडपर्व लक्षित सुरक्षा योजना थप प्रभावकारी बनाइँदै
दुर्घटना न्यूनीकरण तथा यात्रुलाई आवश्यक सूचना र सहायता उपलब्ध गराउन दसैं अवधिमा देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो। त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क सञ्चालन गरी यात्रुलाई आवश्यक सहयोग प्रदान गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रविधिको प्रयोगबाट सडक सुरक्षालाई प्रभावकारी बनाउने प्रयास गर्दै आएको छ।
दसैं सकिएसँगै नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना कार्यान्वयन गरिरहेको जनाएको छ। चाडपर्वका बेला बढ्ने सवारी चाप, लामो दूरीको यात्रा र ट्राफिक नियम उल्लङ्घनबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै जाँच तथा निगरानीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया