• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

‘म’ भित्र हराएको कमरेड !

‘म’ भित्र हराएको कमरेड !

-राष्ट्रिय जागरण अभियानको सन्दर्भमा कम्युनिस्ट आचरण, वर्गीय चेतना र कमरेडली सम्बन्धमाथिको आत्मसमीक्षा:

– शिशिर भण्डारी
भूमिका: हिजोको कमरेड, आज कहाँ छ ?
कुनै समय थियो, हामीसँग सम्पत्तिका नाममा अथाह विश्वास थियो । भविष्यको सुनिश्चितता थिएन, तर सुन्दर समाज निर्माण गर्ने सपना थियो । आफ्नै जीवनको कुनै भरोसा थिएन, तर सहयोद्धाको जीवनप्रति गहिरो माया र चिन्ता थियो । जनयुद्धको महासमरमा ग्रिनेडको झोला भिरेर जीवन र मृत्युको कुनै प्रवाह नगरी हेलीन हामीलाई प्रेरित गर्ने शक्ति विचार मात्र थिएन; एक अर्काप्रतिको विश्वास, त्याग, सम्मान र आत्मीयता पनि थियो । त्यो आफ्नै मलामी आफैँ हिँडेको यात्रामा मृत्यु जुनसुकै मोडमा आइपुग्न सक्थ्यो, तर परिवर्तन प्रतिको सपना मरेको थिएन । लडाइँका मोर्चामा फायर ओपन हुँदा आफूभन्दा अगाडि आफ्नो सहयोद्धा ढल्न नपरोस्, आफू शहीद हुनुपरे पनि कमरेडलाई बचाउन सकूँ भन्ने भावना र प्रतिबद्धता हामी भित्र हुन्थ्यो । त्यो केवल युद्धको जोखिमसँग जुध्ने साहस थिएन; सहयोद्धा प्रतिको विश्वास, जिम्मेवारी र आत्मीयताको अभिव्यक्ति पनि थियो ।

त्यतिबेला ‘कमरेड’ एउटा सम्बोधन मात्र थिएन, जीवनपद्धति थियो । दुःखमा साथ दिने, संकटमा हात थाम्ने, गल्तीमा सच्याउने र साझा उद्देश्यका लागि व्यक्तिगत स्वार्थ त्याग्न सक्ने सम्बन्धको नाम थियो—कमरेड । त्यो यात्रामा अभाव साझा थियो, जोखिम साझा थियो र सपना पनि साझा थियो । व्यक्तिगत सुख–सुविधाभन्दा वर्गीय मुक्तिको उत्कट चाहना ठूलो थियो । आफ्ना दुःखभन्दा सहयोद्धाको पीडा महत्त्वपूर्ण लाग्थ्यो । एउटा कमरेडको आँसु अर्को कमरेडको पीडा बन्थ्यो र एउटा कमरेडको अप्ठ्यारो सबैको जिम्मेवारी हुन्थ्यो । त्यतिबेला हामीसँग धेरै कुरा थिएनन् होला, तर एकअर्का प्रतिको भरोसा थियो । जीवन सुरक्षित थिएन होला, तर परिवर्तन प्रतिको प्रतिबद्धता अटुट थियो । त्यो सम्बन्धमा पदभन्दा जिम्मेवारी ठूलो थियो, व्यक्तिगत सुविधाभन्दा सामूहिक उद्देश्य महत्त्वपूर्ण थियो र स्वार्थभन्दा समर्पणको मूल्य बढी थियो । जतिबेला हामीले केवल राजनीतिक विचार साझा गरेका थिएनौँ; जीवनका जोखिम, पीडा, आशा र सपनासमेत साझा गरेका थियौँ ।

तर आज विगतका ती दिन सम्झँदा मनमा एउटा असहज प्रश्न उठ्छ—हिजो वर्गीय मुक्तिको सपना बोकेर हिँडेको म भित्रको त्यो कमरेड आज कहाँ हरायो ? जनयुद्धको महासमरमा आफ्नो मलामी आफैँ हिँडेर परिवर्तनको यात्रामा होमिएको त्यो सहयात्रीपन आज कहाँ छ ? के समयसँगै हाम्रो भावना बदलिएको हो ? परिस्थितिसँग सम्झौता गर्दै जाँदा हामी आफ्नै आदर्शबाट टाढिएका हौँ ? कि हामी सबैको भीडभित्र कतै आफैँ अपरिचित भएर हराएका हौँ ? आज समय बदलिएको छ, परिस्थिति बदलिएको छ र हाम्रो जीवनशैली पनि बदलिएको छ । परिवर्तन स्वाभाविक हो । तर प्रश्न परिवर्तनको होइन, परिवर्तनसँगै हाम्रा मूल्य, आचरण र सम्बन्ध कता गए भन्ने कुरा महत्त्वपूर्ण हो । हिजो सहयोद्धाको आँसुमा आफ्नै पीडा देख्ने हामी आज उसको दुःखप्रति किन उदासीन हुँदै गयौँ ? सामूहिक मुक्तिका लागि हिँडेका हामी कतै व्यक्तिगत उन्नति, पद, प्रतिष्ठा र सुविधाको घेराभित्र त कैद भएनौँ ?

हिजोआज कहिलेकाहीँ पुराना सहयात्री भेटिन्छन् । अनुहार उही हुन्छ, नाम उही हुन्छ, सम्बोधन पनि उही हुन्छ । विगतका संघर्ष सम्झिन्छौँ, सँगै बिताएका दिनहरूको चर्चा गर्छौँ, तर कताकता पुरानो आत्मीयता हराएको अनुभूति हुन्छ । हिजो मन खोलेर कुरा गर्न सकिने साथीका अगाडि आज आफ्ना कुरा नापतौल गरेर राख्नुपर्ने अवस्था किन आयो ? हिजो निःसंकोच हात समात्न सकिने सहयोद्धासँग आज दूरी किन बढ्यो ? एउटै सपना बोकेर मृत्युको सामना गर्न तयार भएका हामी आज आफ्नै मनका कुरा एकअर्कासँग खुलस्त राख्न किन हिचकिचाउँछौँ ? यो केवल सम्बन्धमा आएको परिवर्तनको प्रश्न होइन । यो आफूले विश्वास गरेको विचार, जोगाउन खोजेको आदर्श र निर्माण गर्न चाहेको समाजसँग जोडिएको प्रश्न हो । सायद हामीले अरूमा खोजिरहेको कमरेड कतै आफैँभित्र हराएको त छैन ? यिनै प्रश्नलाई राष्ट्रिय जागरण अभियानको सन्दर्भमा राखेर कम्युनिस्ट आचरण, वर्गीय चेतना र कमरेडली सम्बन्धको आत्मसमीक्षा गर्नु आज आवश्यक ठानेको छु ।

राष्ट्रिय जागरण र आफूभित्रको खोजी:
कात्तिक ७ गते पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीले पत्रकार सम्मेलनमार्फत राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको सन्दर्भले यी प्रश्नलाई अझ सान्दर्भिक बनाएको छ । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधानका पक्षमा सुदृढ जनमत निर्माण गर्नु, नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्नु, सुशासन र सामाजिक न्यायलाई बलियो बनाउनु, संगठनात्मक सुदृढीकरण तथा जनताका दैनिक जीवनसँग जोडिएका समस्यालाई सम्बोधन गर्नु यस अभियानका महत्त्वपूर्ण उद्देश्य हुन् । राष्ट्रको स्वाधीनता, लोकतान्त्रिक उपलब्धि र जनताका अधिकारको रक्षा गर्न सचेत नागरिक सहभागिता आवश्यक छ । जनताका समस्या सुन्ने, अन्याय विरुद्ध आवाज उठाउने र राजनीतिक शक्तिलाई जनताप्रति उत्तरदायी बनाउने काम पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

“लडाइँका मोर्चामा फायर ओपन हुँदा आफूभन्दा अगाडि कमरेड नढलोस्, आफू शहीद हुनुपरे पनि सहयोद्धा बाँचोस् भन्ने भावना थियो । आज आफ्नै स्वार्थका अगाडि कमरेडको भावना कुल्चिन थालिएको त छैन ?”

तर मेरो दृष्टिकोणमा राष्ट्रिय जागरणको अर्थ जनतालाई सचेत बनाउने, संगठनलाई परिचालित गर्ने वा राजनीतिक अभियानलाई विस्तार गर्ने विषयमा मात्र सीमित रहन सक्दैन । यसले हामी प्रत्येकलाई आफ्नै सोच, व्यवहार र राजनीतिक संस्कारको समीक्षा गर्न पनि प्रेरित गर्नुपर्छ । जनतालाई जगाउन निस्किएको राजनीतिक शक्तिले पहिले आफूभित्रको चेतनालाई पनि जगाउन सक्नुपर्छ । जनतासामु सुशासनको कुरा गर्दै आफ्नै व्यवहारमा अपारदर्शिता देखाउनु, सामाजिक न्यायको पक्षमा बोल्दै सम्बन्धमा विभेद गर्नु र सामूहिक हितको नारा लगाउँदै व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनु कुनै पनि जागरण अभियानका लागि सुहाउने कुरा होइनन् ।

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न विचारको स्पष्टता मात्र पर्याप्त हुँदैन; त्यस विचारलाई जीवनमा उतार्ने इमानदार आचरण पनि चाहिन्छ । जनताको विश्वास भाषणबाट प्राप्त हुन सक्छ, तर त्यसलाई टिकाउने आधार व्यवहार हो । यस अर्थमा राष्ट्रिय जागरण अभियान हामी सबैका लागि एउटा अवसर हो—राष्ट्रलाई जगाउने यात्रासँगै आफूभित्र हराउँदै गएको कमरेडलाई पनि खोज्ने अवसर । किनकि राष्ट्रिय जागरणको विश्वसनीयता हामीले के बोल्छौँ भन्नेमा मात्र होइन, हामी कस्तो राजनीतिक संस्कार र व्यवहार प्रस्तुत गर्छौँ भन्नेमा पनि निर्भर हुन्छ ।

कमरेडली सम्बन्ध किन कमजोर हुँदै गयो ?
राजनीतिक आन्दोलनको इतिहासमा आरोह–अवरोह स्वाभाविक हुन्छन् । संघर्षका दिन र शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका दिन एउटै प्रकृतिका हुँदैनन् । परिस्थिति अनुसार कार्यशैली बदलिन सक्छ, रणनीति फेरिन सक्छ र राजनीतिक प्राथमिकता र कार्यक्रम पनि परिवर्तन हुन सक्छन् । तर परिवर्तनसँगै बदलिन नहुने केही आधारभूत मूल्य हुन्छन्, त्यो हो—इमानदारी, जनताप्रतिको उत्तरदायित्व, वर्गीय पक्षधरता, सहयोद्धा प्रतिको सम्मान र सामूहिक हितप्रतिको निष्ठा । दुःखको कुरा, कतिपय अवस्थामा हामीले राजनीतिक परिस्थितिसँगै आफ्ना मूल्यहरूलाई पनि बदल्न थालेका त छैनौँ ? संघर्षको समयमा व्यक्तिगत स्वार्थलाई नियन्त्रण गर्न सक्ने हामीमध्ये कतिपयले अवसर प्राप्त भएपछि त्यसलाई नै आफ्नो उपलब्धिको केन्द्र बनाउन थालेका त छैनौँ ? सामूहिक निर्णय र जिम्मेवारीको कुरा गर्ने हामीले व्यक्तिगत महत्त्वाकाङ्क्षालाई प्राथमिकता दिन थालेका त छैनौँ ?

यी प्रश्न कुनै एक व्यक्ति, समूह वा नेतृत्वलाई दोष दिनका लागि मात्र होइनन् । यिनको जवाफ खोज्दा हामीले आफूलाई पनि कठघरामा उभ्याउनु पर्छ । किनकि कमरेडली सम्बन्ध कमजोर हुनुमा अरूको व्यवहार मात्र जिम्मेवार हुँदैन; राजनैतिक क्रान्तिको एउटा चरणबाट अर्को चरणमा सिफ्ट हुने क्रममा हाम्रो मौनता, गलत प्रवृत्ति प्रतिको सहनशीलता, पुरानै आचरणसितको सम्झौता र आत्मसमीक्षाको अभाव पनि जिम्मेवार हुन सक्छ । हामीले विचारलाई व्यवहारबाट अलग गर्न थाल्यौँ भने विचार क्रमशः औपचारिकतामा सीमित हुन्छ । क्रान्तिकारी शब्दावली हाम्रो बोलीमा रहिरहन सक्छ, तर त्यसको सार आचरणबाट हराउन सक्छ । वर्गीय मुक्तिको कुरा गर्दै श्रमजीवी मानिसका दुःखबाट टाढिनु, समानताको कुरा गर्दै व्यवहारमा असमानता स्वीकार गर्नु र जनताको प्रतिनिधि भएको दाबी गर्दै जनताकै आवाज सुन्न छाड्नु राजनीतिक विचलनका संकेत हुन् ।

जिम्मेवारी प्राप्त गरेपछि जनता सँगको दूरी बढ्नु, आलोचनालाई सुधारको अवसरको सट्टा व्यक्तिगत विरोध ठान्नु, सहयोद्धाको योगदानभन्दा उसको वर्तमान पद र प्रभावलाई महत्त्व दिनु तथा फरक मत राख्ने साथीलाई अपमानित गर्नुजस्ता प्रवृत्तिले संगठनभित्रको विश्वास कमजोर बनाउँछन् । कम्युनिस्ट हुनु भनेको केवल कुनै पार्टीको सदस्य हुनु वा निश्चित विचारधाराप्रति समर्थन जनाउनु मात्रै होइन । जीवनपर्यन्त अन्यायका विरुद्ध उभिने साहस, शोषित र उत्पीडित प्रतिको प्रतिबद्धता, आफ्ना कमजोरी स्वीकार गर्ने इमानदारी र सामूहिक हितका लागि व्यक्तिगत स्वार्थलाई नियन्त्रण गर्न सक्ने संस्कार पनि कम्युनिस्ट आचरणका महत्त्वपूर्ण पक्ष हुन् । किनकि विचारको वास्तविक परीक्षा हामीले के बोल्छौँ भन्नेमा मात्र होइन, अवसर पाउँदा के गर्छौँ भन्नेमा हुन्छ ।

वर्गीय चेतना र व्यक्तिगत स्वार्थबीचको द्वन्द्व:
मेरो बिचारमा वर्गीय चेतना भनेको समाजमा विद्यमान शोषण, असमानता र अन्यायलाई बुझ्नु मात्र होइन; त्यसलाई बदल्ने जिम्मेवारी समेत आत्मसात् गर्नु हो । यो चेतना पुस्तक, भाषण र राजनीतिक प्रशिक्षणमा मात्र सीमित रहँदैन । यसले हाम्रा निर्णय, सम्बन्ध, प्राथमिकता र दैनिक व्यवहारलाई निर्देशित गर्नुपर्छ । जब व्यक्तिगत लाभ सामूहिक उद्देश्यभन्दा ठूलो बन्न थाल्छ, वर्गीय चेतना कमजोर हुन थाल्छ । जब पद र प्रतिष्ठाले जिम्मेवारीलाई विस्थापित गर्छन्, राजनीतिक संस्कारमा विचलन देखिन थाल्छ । जब सहयोद्धाको योगदानभन्दा उसको वर्तमान हैसियतका आधारमा सम्मान गर्न थालिन्छ, सम्बन्धको आधार नै फेरिन थाल्छ ।

“अनुहार उही छ, नाम उही छ, सम्बोधन पनि उही छ; तर आत्मा खोलेर बोल्न अप्ठ्यारो लाग्छ । सम्बन्धको सबैभन्दा ठूलो दुःख सायद यही हो—मान्छे नबदलिएको देखिनु, तर मनभित्रको दूरी असाध्यै बढ्नु ।”

हामीले आफैँलाई सोध्नुपर्छ—हिजो विचार र योगदानका आधारमा सम्मान गरिने कमरेडलाई आज पद वा प्रभावका आधारमा मूल्याङ्कन त गरिरहेका छैनौँ ? हिजो सामूहिक निर्णयका लागि बहस गर्ने हामी आज आफ्नो विचारसँग असहमत हुने साथीलाई शत्रु जस्तो व्यवहार त गरिरहेका छैनौँ ? आलोचनालाई सुधारको अवसर मान्ने संस्कार हराएर आलोचकलाई नै कमजोर पार्ने प्रवृत्ति त बढिरहेको छैन ?

राजनीतिक आन्दोलनमा सैद्धान्तिक असहमति हुनु स्वाभाविक हो । बहस, आलोचना र फरक मतले विचारलाई समृद्ध बनाउँछन् । तर असहमति व्यक्तिलाई अपमानित गर्ने, उसको योगदान अस्वीकार गर्ने वा सम्बन्ध नै तोड्ने माध्यम बन्नु हुँदैन । आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ, उद्देश्य सुधार हुनुपर्छ र आलोचना गर्ने व्यक्तिले पनि आफ्ना कमजोरी माथि प्रश्न उठाउन सक्नुपर्छ । साँचो कमरेड त्यो होइन, जसले हरेक अवस्थामा हाम्रो प्रशंसा गर्छ । साँचो कमरेड त त्यो हो, जसले हाम्रो गल्ती देख्दा सच्याउन खोज्छ, गलत बाटोमा हिँड्दा रोक्न खोज्छ र कठिन समयमा पनि सत्य बोल्ने साहस राख्छ । त्यस्तै, सच्चा कमरेडली सम्बन्धको प्रमाण अरूलाई आलोचना गर्न सक्नु मात्र होइन, आलोचना सुन्न र आवश्यक परे आफूलाई बदल्न सक्नु पनि हो ।

वर्गीय चेतना व्यवहारमा देखिनुपर्छ । श्रमको सम्मान, अवसरबाट वञ्चित मानिसको पक्षमा उभिने प्रतिबद्धता, निर्णय प्रक्रियामा निष्पक्षता र सार्वजनिक जिम्मेवारीमा पारदर्शिता त्यसका व्यावहारिक आधार हुन् । यी मूल्य कमजोर हुँदै गए भने वर्गीय मुक्तिको नारा जति चर्को भए पनि त्यसले जनताको विश्वास जित्न सक्दैन ।

शहीदका सपना र हाम्रो जिम्मेवारी:
हामीले हिजो परिवर्तनका लागि ठूलो मूल्य चुकाएका छौँ । थुप्रै योद्धाले आफ्नो जीवन अर्पण गरे, धेरै परिवारले अपूरणीय पीडा भोगे र अनगिन्ती मानिसले भविष्य प्रतिको आशामा वर्तमानका सुख त्यागे । ती बलिदानलाई गौरवपूर्ण इतिहासका रूपमा सम्झेर मात्र पुग्दैन; तिनले हामीमाथि सुम्पेको जिम्मेवारी पनि बुझ्नुपर्छ । शहीदको नाम लिनु सजिलो छ, उनीहरूको सपना बोकेको दाबी गर्नु पनि सजिलो छ । तर त्यो सपना हाम्रो व्यवहारमा कति प्रतिबिम्बित भएको छ भन्ने प्रश्नको उत्तर दिन कठिन छ । शहीदको बलिदानलाई राजनीतिक भाषणको विषय बनाउने तर उनीहरूले चाहेको न्याय, समानता र जनताको सम्मानलाई व्यवहारमा स्थापित गर्न नसक्ने हो भने हाम्रो स्मरण अपूरो हुन्छ ।

जीवित सहयोद्धाको पीडा नदेख्ने आँखाले शहीदको सपना कसरी देख्न सक्छ ? जनताको नाममा राजनीति गर्नेले जनताबाटै दूरी बढाउँदै गयो भने आफ्नो राजनीतिक औचित्य कसरी पुष्टि गर्न सक्छ ? समानताको सपना देख्ने हामीले आफ्नै सम्बन्धमा असमानता र अपमानलाई सामान्य मान्न थाल्यौँ भने त्यो सपनाको अर्थ के रहन्छ ? यी प्रश्नको उद्देश्य विगतको बलिदानलाई कमजोर ठहर गर्नु होइन । बरु त्यस बलिदानले हामीमाथि सुम्पेको जिम्मेवारीलाई गम्भीरतासाथ बुझ्नु हो । शहीदको सपना कुनै व्यक्ति वा समूहको व्यक्तिगत उन्नतिमा सीमित हुन सक्दैन । त्यसको सार जनताको जीवनमा देखिने परिवर्तन, श्रमको सम्मान, अवसरबाट वञ्चित मानिसको अधिकार, सामाजिक न्याय र अन्यायविरुद्ध उभिने राजनीतिक इमानदारीमा खोजिनुपर्छ ।

विगतको संघर्षलाई पूर्णतः दोषरहित आदर्श समयका रूपमा मात्रै चित्रण गर्नु पनि आवश्यक छैन । विगतका अनुभवमा रहेका कमजोरीबाट सिक्नु र वर्तमानका उपलब्धि तथा चुनौतीलाई वस्तुनिष्ठरूपमा बुझ्नु नै इतिहासप्रतिको इमानदार दृष्टिकोण हो । विगतको गौरवले वर्तमानका कमजोरी छोपिँदैन, न त वर्तमानका कमजोरीले विगतका त्यागको महत्त्व मेटाउँछन् । हामीले हिजो बन्दुकको नाल अगाडि पनि नझुकेको आफ्नो विवेकलाई आज पद र प्रतिष्ठाको अगाडि झुक्न दिनु हुँदैन । हिजो जीवनभन्दा ठूलो ठानेको मुक्तिको सपनालाई आज व्यक्तिगत स्वार्थभन्दा सानो हुन दिनु हुँदैन । क्रान्तिकारी हुनुको प्रमाण हिजो मृत्युको सामना गर्नु मात्र होइन; आज पद, पैसा, प्रतिष्ठा र निजी स्वार्थको मोहसँग लड्न सक्नु पनि हो । त्यसैले इतिहासको सम्मान गर्ने हो भने आफ्ना वर्तमानका कमजोरीलाई इमानदारी पूर्वक स्वीकार गर्नुपर्छ ।

आफूभित्र हराएको कमरेडलाई कसरी खोज्ने ?
अरूको कमजोरी देख्न हामीलाई धेरै समय लाग्दैन । राजनीतिक विचलन, अवसरवाद, व्यक्तिवाद र स्वार्थको आलोचना गर्न हामी अब्बल र सक्षम छौँ । तर आफ्नै व्यवहारमा त्यस्तै प्रवृत्ति भेटिँदा हामी कति सहजताका साथ स्वीकार गर्न सक्छौँ ? आफूले गरेको गल्तीलाई परिस्थितिको बाध्यता भनेर टार्ने, आफ्नो स्वार्थलाई व्यावहारिकता भन्ने र अरूको कमजोरीलाई विचार विहीनता ठहर गर्ने प्रवृत्तिबाट हामी मुक्त छौँ त ?

“शहीदका सपना भाषणमा सम्झेर मात्र पूरा हुँदैनन्; तिनलाई आफ्नो आचरण, निर्णय र जनताप्रतिको जिम्मेवारीमा उतार्नुपर्छ । इतिहासप्रति सच्चा सम्मान भनेको सहिदको नाम लिनु मात्र होइन, उनीहरूले देखेको न्यायपूर्ण समाज निर्माणका लागि इमानदार रहनु हो ।”

आत्मसमीक्षा आत्मग्लानि होइन । यो आफूलाई कमजोर प्रमाणित गर्ने प्रक्रिया पनि होइन । बरु आफ्ना कमजोरी पहिचान गरेर सच्याउने साहस हो । आफू भित्रको गलत प्रवृत्ति स्वीकार गर्न सक्नु पराजय होइन, वैचारिक इमानदारीको सुरुवात हो । हामीले आफूभित्रको कमरेडलाई खोज्ने हो भने केही सरल तर महत्त्वपूर्ण प्रश्नबाट सुरु गर्न सक्छौँ । के म जनताको दुःखप्रति संवेदनशील छु ? के म आफ्नो जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्छु ? के म पद र प्रतिष्ठाभन्दा विचार र योगदानलाई महत्त्व दिन्छु ? के म असहमत साथीको कुरा सुन्न सक्छु ? के म आफ्नो गल्ती स्वीकार गरेर सुधार गर्न तयार छु ? के मेरो बोली र व्यवहार बीच मेल छ ? यी प्रश्नको उत्तर भाषणबाट होइन, आफ्नै जीवनबाट दिनुपर्छ । परिवर्तनको सुरुवात अरूलाई बदल्ने आग्रहबाट मात्र हुँदैन; आफूलाई बदल्ने प्रतिबद्धताबाट हुन्छ ।

मेरो बिचारमा यो अभियानबाट नै कमरेडली सम्बन्ध पुनर्जीवित गर्न ठूला नाराभन्दा व्यवहारका साना तर निरन्तर अभ्यास आवश्यक छन् । एक अर्काको योगदानलाई सम्मान गर्ने, फरक मतलाई सुन्ने, गल्ती हुँदा स्वीकार गर्ने, जिम्मेवारीमा पारदर्शिता कायम गर्ने, आत्मकेन्द्रित र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिने र जनतासँग नियमित संवाद गर्ने संस्कार विकास गर्नुपर्छ ।संगठनभित्र आलोचना र आत्मालोचनालाई औपचारिक कार्यक्रममा सीमित नगरी निर्णय तथा कार्यसम्पादनको नियमित अभ्यास बनाउन सकिन्छ । जिम्मेवारीको मूल्याङ्कन पद वा निकटताका आधारमा होइन, काम, इमानदारी र जनताप्रतिको उत्तरदायित्वका आधारमा गर्नुपर्छ । गलत प्रवृत्तिमाथि प्रश्न उठाउने व्यक्तिलाई शत्रु ठान्ने होइन, उसको आलोचनामा रहेका तथ्य र तर्कको निष्पक्ष परीक्षण गर्ने संस्कार बसाल्नुपर्छ ।

हामीबीचको दूरी केवल भेटघाट कम भएर बढेको होइन; कतिपय अवस्थामा साझा उद्देश्य र पारस्परिक विश्वास कमजोर भएर पनि बढेको हो । त्यसैले पुरानो आत्मीयता फर्काउने अर्थ विगतलाई जस्ताको तस्तै दोहोर्‍याउनु होइन । त्यो बदलिएको परिवेशमा सम्भव पनि छैन । बरू विगतका असल मूल्यलाई वर्तमानका चुनौतीसँग जोड्नु र कमजोरीबाट सिक्दै नयाँ आधारमा सम्बन्ध निर्माण गर्नु हो ।

राष्ट्रिय जागरणको अभियानको वास्तविक अर्थ:
राष्ट्रिय जागरण अभियानको सफलता जनताको सहभागिता, राष्ट्रिय हितप्रतिको प्रतिबद्धता, सुशासन, सामाजिक न्याय र जनजीवनमा देखिने सकारात्मक परिवर्तनबाट मापन गरिनुपर्छ । अभियानले जनताका अपेक्षा सुन्ने, समस्याको समाधान खोज्ने र राजनीतिक संगठनलाई जनताप्रति अझ उत्तरदायी बनाउने अवसर सिर्जना गर्नुपर्छ । यसका लागि नेता–कार्यकर्ताको आचरण निर्णायक हुन्छ । जनताले हाम्रो भाषणभन्दा व्यवहारलाई नजिकबाट नियालिरहेका हुन्छन् । हामीले गर्ने प्रतिबद्धता र त्यसलाई पूरा गर्ने तत्परता बीचको दूरीले नै विश्वास निर्माण वा क्षय गर्छ । त्यसैले राष्ट्रिय जागरणलाई संगठनात्मक कार्यक्रमको सीमाभित्र नराखी राजनीतिक संस्कार, सामाजिक उत्तरदायित्व र व्यक्तिगत आचरणसँग जोड्न आवश्यक छ ।

राष्ट्रप्रतिको निष्ठा र जनताप्रतिको जिम्मेवारी एक अर्काबाट अलग हुन सक्दैनन् । राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता जनताको सम्मान, अधिकार र समृद्धिसँग जोडिनुपर्छ । लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता संस्थागत उत्तरदायित्व, नागरिक स्वतन्त्रता र फरक मतको सम्मानमा देखिनुपर्छ । सामाजिक न्यायको नारा समाजका कमजोर र पछाडि पारिएका वर्गप्रतिको व्यवहारमा प्रकट हुनुपर्छ । यसका लागि राष्ट्रिय जागरणसँगै संगठनभित्र आत्मसमीक्षाको अभ्यास, जनतासँग नियमित संवाद, सार्वजनिक जिम्मेवारीमा पारदर्शिता र आलोचना स्वीकार गर्ने संस्कारलाई प्राथमिकता दिनुपर्छ । अभियानले जनताबाट अपेक्षा राख्ने मात्र होइन, जनतासामु आफ्ना कामको हिसाब दिन सक्ने राजनीतिक संस्कृति निर्माण गर्नुपर्छ ।

“मभित्र हराएको कमरेडलाई भेट्नु छ—इतिहासको गौरवमा होइन, वर्तमानको इमानदारीमा; नाराको गुञ्जनमा होइन, व्यवहारको सत्यतामा; व्यक्तिगत विजयमा होइन, सामूहिक मुक्तिको अधुरो सपनामा ।”

यहीँनेर राष्ट्रिय जागरण र आत्मजागरणको सम्बन्ध जोडिन्छ । राष्ट्रलाई बदल्ने चाहना राख्ने हामीले आफू भित्रका स्वार्थ, अहंकार, असहिष्णुता र उदासीनता माथि पनि प्रश्न उठाउनुपर्छ । आफूलाई नसच्याई अरूलाई सच्याउने अभियान अधुरो रहन्छ । राजनीतिक आदर्शलाई व्यवहारमा उतार्न नसक्ने हो भने विचारप्रतिको निष्ठा पनि क्रमशः औपचारिकतामा सीमित हुन्छ । आज हामीलाई विगतको गौरव मात्र होइन, वर्तमानको इमानदार समीक्षा र भविष्यप्रतिको स्पष्ट प्रतिबद्धता चाहिएको छ । इतिहासले हामीलाई गौरव दिएको छ भने त्यसले उत्तरदायित्व पनि दिएको छ । त्यो उत्तरदायित्व पूरा गर्ने बाटो आत्मसमीक्षा, जनताप्रतिको निष्ठा र व्यवहारमा देखिने परिवर्तन बाटै अघि बढ्छ ।

कमरेड, फर्केर आऊ !
आज म कुनै एक कमरेडलाई मात्र खोजिरहेको छैन । म त्यो सामूहिक चेतना, आत्मीयता र वर्गीय प्रतिबद्धता खोजिरहेको छु, जसले हिजो कठिन परिस्थितिमा पनि हामीलाई एक अर्काको भरोसा बनेर उभिन सिकाएको थियो । सायद त्यो कमरेड कतै हराएको छैन; पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका तहभित्र दबिएको छ । उसलाई फेरि भेट्न अरूलाई दोष दिएर मात्र पुग्दैन, आफ्नै मनभित्र फर्केर हेर्नुपर्छ—हामीले के गुमायौँ र त्यसलाई कसरी पुनर्जीवित गर्न सक्छौँ ?

म विगतलाई जस्ताको तस्तै फर्काउन चाहन्नँ । विगतले हामीभित्र जन्माएको मानवीय संवेदना, त्यागको संस्कार र सामूहिकताको भावनालाई वर्तमानमा पुनर्जीवित गर्न चाहन्छु । त्यसैले भन्छु—मभित्र हराएको कमरेड, फर्केर आऊ ! कुनै पदमा होइन, कुनै नारामा होइन, आफ्नै इमानदार व्यवहारमा फेरि देखा पर । जनताको दुःखमा संवेदना बनेर, सहयोद्धाको कठिनाइमा साथ बनेर र आफ्नै कमजोरी सच्याउने साहस बनेर फर्केर आऊ ।

आऊ, कमरेड ! एकपटक फेरि सोचौँ—हामी कहाँबाट हिँडेका थियौँ, किन हिँडेका थियौँ र आज कहाँ आइपुगेका छौँ ? हिजो सहयोद्धाका लागि जीवन अर्पण गर्न तयार हुने हाम्रो मन आज उसको दुःखमा साथ दिन कति तत्पर छ ? अनुहार उही र सम्बोधन उही भए पनि सम्बन्धमा दूरी बढेको छ भने त्यसको कारण खोजौँ । इतिहासको गौरवमा मात्र नरमाऔँ; वर्तमानका कमजोरी सच्याऔँ, स्वार्थका पर्खाल भत्काऔँ र विश्वासका पुल बनाऔँ । किनकि क्रान्ति केवल सत्ता बदल्ने घटना होइन; आफूभित्रको स्वार्थलाई परास्त गर्दै मानवीयता, समानता र सामूहिकताको पक्षमा उभिने निरन्तर सङ्घर्ष पनि हो । आज हामीले आफूभित्र हराएको कमरेडलाई भेट्नु छ—इतिहासको गौरवमा होइन, वर्तमानको इमानदारीमा; नारामा होइन, व्यवहारमा; व्यक्तिगत स्वार्थमा होइन, सामूहिक मुक्तिको अधुरो सपनामा ।

अन्त्यमा, हिजोको त्यो निष्ठावान् कमरेडले आज हामीलाई भेट्यो भने के उसले आफ्नै सहयोद्धाका रूपमा चिन्न सक्ला ? यही प्रश्नले हामीलाई आत्मसमीक्षा र परिवर्तनका लागि प्रेरित गरोस् । राष्ट्रिय जागरणको वास्तविक सुरुवात जनतालाई जगाउन निस्किएको दिन मात्र होइन, आफूभित्र हराएको कमरेडलाई चिन्न, स्वीकार गर्न र पुनर्जीवित गर्न थालेको दिनबाट पनि हुन्छ । त्यसैले मभित्रको कमरेड, फर्केर आऊ—हामीलाई क्रान्तिको कुरा गर्न मात्र होइन, क्रान्तिकारी भएर बाँच्न सिकाऊ ! –२०८३ कात्तिक १० गते ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ११, मंगलवार ०६:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार