काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको मातहतमा रहेका विभिन्न प्रहरी इकाईहरूले घरेलु हिंसा, चोरी, सामाजिक कुरीति, आत्महत्या तथा लागुऔषधसम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
कात्तिक १० गते सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कालाेटाेपी डटकमसँग जनाएको छ ।
कार्यक्रम अन्तर्गत प्रहरी चौकी कानपुर, तिमालबेँसी र फलाँटेले घरेलु हिंसासम्बन्धी विषयमा सचेतना फैलाएका थिए । त्यस्तै, प्रहरी चौकी कुशादेवीले चोरीसम्बन्धी, ढुङ्खर्कले सामाजिक कुरीतिविरुद्ध, तालढुङ्गाले आत्महत्या न्यूनीकरणसम्बन्धी तथा दोलालघाटले लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।
समुदायमा देखिने विभिन्न सामाजिक समस्या, अपराध तथा विकृतिबारे नागरिकलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता कार्यक्रमले नागरिकमा सामाजिक जिम्मेवारीबोध बढाउनुका साथै अपराध तथा हिंसा न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी र समुदायबीच सहकार्य अभिवृद्धि गर्दै सुरक्षित तथा सभ्य समाज निर्माणमा जोड दिइँदै आएको छ ।
प्रतिक्रिया