धुलिखेल। सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवाज्योति सेवाकेन्द्रको आयोजनामा धुलिखेल नगरपालिका–२, रविओपीमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कात्तिक १० गते मंगलबार आयोजित विस्तारित मञ्चमा सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य कल्पना मानन्धरको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा व्यवस्थापन उपसमिति सदस्य अनु मुस्याजुको पनि उपस्थिति थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ अधिकृत जीवन सत्यालले संस्थाका वस्तु तथा सेवा, सदस्य राहतका कार्यक्रम, विभिन्न स्वास्थ्य संस्थासँग भएका सम्झौता र सदस्यले प्राप्त गर्न सक्ने सेवाबारे जानकारी गराउनुभएको थियो । उहाँले नियमित बचतको अनिवार्यता र संस्थाको विकासमा सदस्यको सक्रिय सहभागिताको महत्त्वबारे पनि स्पष्ट पार्नुभएको थियो ।
त्यसैगरी, नियामक निकायबाट कर्जा सूचना तथा ऋण लगानीसम्बन्धी जारी निर्देशनको पालना गर्दै संस्थाले अपनाएका व्यवस्थाबारे सदस्यलाई जानकारी गराइएको थियो । कर्जा सूचना अनिवार्य गरिएको व्यवस्था र ऋण लगानीमा शुल्क नलाग्ने प्रावधानबारे समेत स्पष्ट पार्दै सहभागी सदस्यका जिज्ञासा सम्बोधन गरिएको थियो ।
५७ जना शेयर सदस्यको सहभागिता रहेको कार्यक्रममा संस्थाको आगामी ३२औँ वार्षिक साधारणसभाबारे पनि जानकारी गराइएको थियो। आगामी कात्तिक २० र २१ गते हुने साधारणसभामा सहभागिताका लागि सदस्यहरूलाई जानकारी दिँदै सम्बन्धित पत्रसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।
सहकारीका सेवा, नीति तथा व्यवस्थाबारे सदस्यलाई सुसूचित गराउने, उनीहरूका जिज्ञासा सम्बोधन गर्ने र संस्थाप्रति अपनत्व तथा सक्रिय सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया