काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको लागेकाे छ । सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका साथै कोशीको तराई भागमा पनि आंशिक बादल लागेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ । देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको देखिन्छ ।
आज दिउँसाे कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ । तराईका भागमा पनि आंशिक बदलीको सम्भावना छ ।
कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुनेछ ।
राति पहाडमा वर्षाको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरू, उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ।
प्रतिक्रिया