काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वीभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी र हिमाली भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भागका केही स्थानमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भागका थोरै स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ ।
यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराईमा मुख्यतया सफा रहनेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका एक,दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भागका केही स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
प्रतिक्रिया