पनौती। बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी तथा सदस्यमैत्री बनाउने उद्देश्यले शनिबार खोपासी सेवा कार्यालय अन्तर्गतका सदस्य प्रतिनिधिहरूको सहभागितामा बजेट तथा कार्यक्रम सुझाव संकलन भेला सम्पन्न भएको छ।
संस्थाका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा उपसमितिका संयोजक भिमबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन खोपासी सेवा कार्यालयका सचिव उद्धवप्रसाद आचार्यले गर्नुभएको थियो। कार्यक्रममा खोपासी सेवा कार्यालयका संयोजक अच्युतप्रसाद गुरागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
भेलामा संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तानले संस्थाको समग्र प्रगति, उपलब्धि तथा सञ्चालन भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी खोपासी सेवा कार्यालयका कार्यालय व्यवस्थापक राजेश कार्कीले खोपासी क्षेत्रको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
६१ जना सदस्य प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा संस्थाका सञ्चालक सदस्य गणेशप्रसाद पराजुलीले सदस्यहरूबाट सुझाव तथा गुनासा संकलन गर्नुभएको थियो। सहभागी प्रतिनिधिहरूले संस्थाको सेवा प्रवाह, कार्यक्रम विस्तार, सदस्य हित, वित्तीय सेवा तथा भावी योजनासम्बन्धी विविध रचनात्मक सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए।
उठाइएका जिज्ञासाको जवाफ प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तानले दिनुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले सदस्यहरूबाट प्राप्त महत्वपूर्ण सुझावहरूलाई आगामी बजेट तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो।
सदस्यहरूको उत्साहजनक सहभागिता र रचनात्मक सुझावसहित सम्पन्न उक्त भेला आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी, सदस्यमुखी र व्यवहारिक बनाउन महत्वपूर्ण आधार बन्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
प्रतिक्रिया