काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा पनौती नगरपालिकाको व्यवस्थापकीय सहयोगमा विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास ‘हातेमालो–२०८३’ सम्पन्न भएको छ । “प्रकृतिको चुनौती आउन सक्छ जुनसुकै बेला, तयारीले बचाउँछ जीवन हरेक पलमा” भन्ने सन्देशका साथ बिहीबार आयोजित अभ्यासमा विपद्का बेला विभिन्न निकायबीच आवश्यक समन्वय, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरूको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन यस्ता अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सम्भावित प्राकृतिक तथा मानवीय विपद्को समयमा सरोकारवाला निकायहरूबीचको समन्वय र तत्परता बढाउन नियमित अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस साेसाईटी काभ्रेले संयुक्तरूपमा विपद् उद्दार अभ्यास कार्यक्रम गरेकाे श्रीमेयर गण धुलिखेलले जनाएकाे छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक गोपालकुमार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेनाको धुलिखेलस्थित श्रीमेहर गण, सशस्त्र प्रहरी बल पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेका सुरक्षाकर्मीहरू र नेपाल रेडक्रस साेसाईटी काभ्रेले विपद् प्रतिकार्य तथा उद्धारसम्बन्धी विभिन्न अभ्यास प्रस्तुत गरेका थिए ।
पनौती नगरपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूले विपद्को अवस्थामा संयुक्तरूपमा गरिने उद्धार तथा प्रतिकार्यका विविध पक्षबारे जानकारी गराएका थिए । अभ्यासका क्रममा पानीजन्य विपद्, आगलागी, ग्यास चुहावटबाट हुन सक्ने दुर्घटना, घरभित्र च्यापिएका वा थुनिएका व्यक्तिको उद्धार, खोँचमा खसेका व्यक्तिहरूको उद्धार तथा सडक दुर्घटनापछि गरिने खोज, उद्धार र उपचारका नमुना प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार काभ्रे जिल्लामा २०८१ साल असोज १० देखि १२ गतेसम्म आएको विपद्मा ८१ जनाले ज्यान गुमाएका थिए भने हरेक वर्ष औसत १५ देखि २० जनासम्म नागरिकले विभिन्न विपद्का कारण ज्यान गुमाउने गरेका छन् । यस्ता घटनाबाट करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको पनि जानकारी गराइएको थियो ।

केही दिनअघि मात्रै सुरक्षा निकायले विपी राजमार्गमा फसेका ८९ जना यात्रुलाई सकुशल उद्धार गरेको उदाहरण प्रस्तुत गर्दै विपद् व्यवस्थापनमा सुरक्षा निकायहरूको समन्वय र तयारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले ‘हातेमालो २०८३’ आयोजना गरिएको आयोजकले जनाएको छ । संयुक्त अभ्यासमार्फत विपद् व्यवस्थापनमा संलग्न निकायहरूको कार्यक्षमता अभिवृद्धि, उद्धार कार्यमा समन्वय सुदृढीकरण तथा समुदायस्तरमा विपद् सचेतना विस्तार गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया