काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–७ चारदोबाटो क्षेत्रमा रहेका दुई औषधि पसलबाट डाक्टरको परामर्शबिना औषधि बिक्री–वितरण भइरहेको सूचनाका आधारमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जेठ २७ गते साँझ करिब ५ः३० बजे बनेपा–७ स्थित नातीकाजी प्लाजाको पहिलो तल्लामा सञ्चालनमा रहेका शुभम फार्म र मेडी सेवा फार्ममा अनुगमन गर्दा चिकित्सकको सिफारिसबिना औषधि बिक्री भइरहेको फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकाे प्रहरी टोलीले औषधि व्यवस्था विभागसँग समन्वय गरी पसलहरूमा छापा मार्दा बिक्री तथा खरिद कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा शुभम फार्मका सञ्चालक सूर्यविनायक नगरपालिका–५ भक्तपुर निवासी ५० वर्षीय बरदाराम भैल, मेडी सेवा फार्मका सञ्चालक महांकाल गाउँपालिका–५ ललितपुर निवासी ३३ वर्षीय विनोद बञ्जारा, शुभम फार्मबाट औषधि खरिद गर्ने पनौती नगरपालिका–७ निवासी २२ वर्षीय सागर आले मगर तथा मेडी सेवा फार्मबाट औषधि खरिद गर्ने धुलिखेल नगरपालिका–७ निवासी २६ वर्षीय सुनिल थामी रहेका छन्।
प्रहरीले शुभम फार्मबाट SPASPAIN नामक ३१२ चक्की तथा PEGARON 150 नामक २१ चक्की बरामद गरेको जनाएको छ । त्यस्तै मेडी सेवा फार्मबाट ANTIKOF ८५ चक्की, DICLOMIN 20 का १२० चक्की, MEGALIN 150 का १०० चक्की र GABAWELL 150 का १५ चक्की बरामद गरिएको छ ।
यसका साथै औषधि खरिदकर्ताको साथबाट पनि केही परिमाणमा औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । सागर आले मगरको साथबाट PEGARON ४ चक्की र सुनिल थामीको साथबाट GABAWELL 150 का १० चक्की बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिहरू तथा बरामद औषधिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीले चिकित्सकको सल्लाहबिना औषधि खरिद तथा सेवन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता अवैध गतिविधिविरुद्ध निगरानीलाई थप प्रभावकारी बनाइने जनाएको छ।
प्रतिक्रिया