• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सन्दर्भ बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसः पीडित सोध्छन्, ‘हाम्रा सदस्यहरु कहाँ छन् ?’

सन्दर्भ बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसः पीडित सोध्छन्, ‘हाम्रा सदस्यहरु कहाँ छन् ?’

ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । माओवादी जनयुद्धको अवधि ०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुनु अघिसम्म द्वन्द्वका कारण देशमा हजारौं नागरिकको मृत्यु भयो । कयौं घाइते र अपांगता भए । तर सोही समयअवधिमा राज्य र गैरराज्यपक्षबाट सयौंको संख्यामा नागरिक बेपत्ता भए । जसमध्ये केही नागरिक लामोसमयपछि सम्पर्कमा पनि आए तर हालसम्म पनि केही नागरिक बेपत्ताकै सूचीमा छन् । उनीहरुका परिवार अहिले पीडामा बाँचिरहेका छन् । न बाँचेर आउँछन्, न मरेको खबर नै छ । सामाजिक संस्कार र काजकिरिया पनि गर्न पाइएको छैन । यस्तो अवस्थामा कसरी बाँच्ने ?

सरकारले आइतबार बेपत्ता नागरिकको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा पीडित परिवार भने आँखामा टिलपिल टिलपिल आँसु देखाउँदै भावुक अवस्थामा देखिन्थे । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले बनेपामा पीडित परिवारसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । जसमा जिल्लाका विभिन्न पालिकाबाट पीडित परिवारहरुको उपस्थिती रहेको थियो । उनीहरुको एउटै माग थियो, ‘सरकारले यसरी बेपत्ताको सूचीमा कहिलेसम्म राख्ने ? अब कि मरेको घोषणा गर्नुपर्यो, कि वास्तविकता बताउनु पर्यो ।’

जिल्लामा यो अवधिमा २१ जना नागरिक बेपत्ता भएको सूचीमा छन् । जसमध्ये अन्तर्क्रिया कार्यक्रममा ८ जनाका परिवार उपस्थित थिए । कोही राज्यपक्षबाट त कोही विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकका परिवार मध्ये, गोपीकृष्ण बडालका भाइ रघुनाथ बडाल ०५९ साल बैशाखदेखि बेपत्ता हुनुहुन्छ । तत्कालिन समयमा सेनाका तर्फबाट बेपत्ता पारिएको बताउँदै गोपीकृष्ण भन्नुहुन्छ, ‘आउँछ भन्ने थोरै आशा छ तर सरकारले वास्तविकता बताउनु पर्यो । हामी अन्योलमा भयौं ।’ यस्तै कृष्णप्रसाद ढकालका छोरा ०६० साल कात्तिक २६ गते बेपत्ता हुनुभयो । तत्कालिन समयमा सेनाका तर्फबाट ब्यारेकमा लगेर बेपत्ता पारिएको उहाँले बताउनुभयो । सत्यतथ्य जे भएको हो सो जानकारी सरकारले दिए आफूहरुलाई सामाजिक कार्य पनि गर्ने वातावरण मिल्थ्यो भन्ने उहाँको माग छ । धुलिखेल नगरपालिका ७ की दुर्गा श्रेष्ठका श्रीमान ०६१ सालमा बेपत्ता हुनुभयो । आफ्नो सदस्य अझै पनि जिउँदै हुनुहुन्छ जस्तो झिनो आशा त छ तर अवस्था के छ अन्योल भयो । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा केही सहयोग त पाइएको छ तर परिवारको सदस्यको अवस्था के छ भन्ने पत्तो नहुँदा पीडामा रहेका छौं ।’ उहाँले भन्नुभयो ।

उहाँहरु जस्ता सबैले उस्तै प्रकारको गुनासो गर्नुभयो । सधैं दिवस मनाउने मात्रै भन्दा पनि जे हो जानकारी दिने काम सरकारले गर्नै पर्नेमा उहाँहरुको जोड थियो । नेपाल रेडक्रस सोसाइटी र आइसीआरसीले दिएको तथ्यांक अनुसार देशभर अझै १ हजार ३२३ जना नागरिक बेपत्ताको सूचीमा छन् । उनीहरुको अवस्थाका बारेमा राज्यले परिवारलाई जानकारी दिनुपर्नेमा अझैसम्म केही जानकारी छैन ।

कार्यक्रममा रेडक्रस काभ्रे शाखाका मन्त्री राजु सिग्देलले रेडक्रस सोसाइटी केन्द्रले पठाएको परिपत्र पढेर सुनाउनुभएको थियो भने जिल्ला सभापति देवेन्द्रप्रसाद भैलले राज्यले यसको जिम्मा लिएर पीडित परिवारका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेपत्ता पारिएकाहरुको सम्झना र अवस्था छिटो पत्ता लागोस् भन्ने कामनासहित दीप प्रज्वलनसमेत गरिएको थियो । रेडक्रस काभ्रेका कार्यसमिति सदस्या, पदाधिकारी, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, संचारकर्मीहरुलगायतको उपस्थिती रहेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेका सभापति भैलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बेपत्ता पारिएकाहरुको लागि अन्तर्राष्ट्रिय दिवस किन ?
सरकारले हरेक दिनजसो केही न केही दिवस मनाइरहने गरेको छ । केही वर्ष अघिदेखि नेपालमा बेपत्ता पारिएकाहरुको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि हामीलाई थाहा छ । आइतबार अगस्ट ३०, नेपालमा पनि त्यही दिवस मनाइयो । यसलाई पनि अनौंठो नमानौं । स्वभाविक नै होला सरकारका कार्यक्रमहरु । तर पछिल्ला तीन दशकयता विशेषगरि माओवादी जनयुद्ध शुरु भएको अवस्थादेखि यता देशमा बेपत्ता भएकाहरुको संख्या हेर्ने हो भने सरकारले मनाउने भनिएको दिवसको के औचित्य होला र भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि होइन ।

०५२ सालदेखि ०६२ सालसम्मको अवस्था हेर्ने हो भने राज्य र गैरराज्य दुवैपक्षबाट यति धेरै मानव अधिकारको हनन् र उल्लंघन हुने कार्य भए कि त्यस्तो अवस्था न पहिले थियो न अब हुने नै छ । करिब १७ हजार नेपालीहरुले अकालमा ज्यान गुमाए भने सयौं व्यक्ति अझै बेपत्ता छन् । त्यतिबेला मरेका र बेपत्ता भएकाहरुबारे छानबिन गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर काम गर्ने भनेको पनि वर्षौं भइसक्यो । तर यसलाई कार्यान्वयन गर्न सकेको छैन । कागजमै सिमीत रहेको यो निर्णयले अन्यायमा परेका हजारौं नागरिकको न्यायको ढोका पनि बन्द गरिदिएको छ ।

मर्नेहरु त मरिसके, अब ती फर्केर आउँदैनन् भन्ने निश्चित छ । तर बेपत्ता पारिएका भनिएकाहरु न मरेको खबर छ न अहिलेसम्म फर्केर नै आएका छन् । धेरै पीडा र वेदना लुकाएर बाटो हेर्ने पीडित परिवारहरुले अब आशा पनि मारिसकेका छन् । कसैले त २५ वर्षसम्म नफर्केपछि सामाजिक परम्परा अनुशार काजकिरिया पनि गरिसकेका खबर आउन थालेका छन् । यस्तो अवस्थामा राज्यले बेपत्ता पारिएकाहरुको पक्षमा दिवस मनाउनुको के अर्थ रह्यो र ? पीडित परिवारहरु यस्तै आक्रोश पोख्न बाध्य छन् अहिले । उनीहरु आफ्ना परिवारका सदस्यको मरेकै भए पनि वा जिउँदो अवस्था, जे भए पनि सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । यसो गर्न सके मात्र राज्यले वेपत्ता पारिएका नागरिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउनुको सार्थकता रहने पीडितहरु बताउँछन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १४, आईतवार १९:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP