• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने

भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट सिर्जित विपद् व्यवस्थापनका लागि ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ सहयोग गर्ने भएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा क्षति व्यवस्थापनका लागि महानगरपालिकाले गर्नुपर्ने सहयोगका विषयमा छलफल गर्न आइतबार बसेको महानगरपालिकाको ५७औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, इन्डक्सन तथा भाँडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, ग्यास सिलिन्डरलगायतका राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिनलगायत आवश्यक उपकरण तथा साधन र जनशक्ति व्यवस्थापनको जिम्मेवारी महानगर विपद् व्यवस्थापन समितिलाई दिइएको छ ।

महानगरपालिकाले सहयोग गर्न लागेको कुल रकममध्ये ३ करोड रुपैयाँ महानगरको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ । बाँकी रकम भने जनप्रतिनिधि तथा महानगरपालिकामा कार्यरत कर्मचारीको सुविधा तथा पारिश्रमिकबाट संकलन गरिने भएको छ । त्यसअनुसार कार्यपालिका सदस्यको एक महिनाको सुविधा, वडा सदस्यको पाँच दिनको सुविधा, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको सात दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम सहयोगमा समावेश गरिनेछ ।

त्यस्तै, महानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीको सात दिन बराबरको पारिश्रमिक, सहायकस्तरका कर्मचारीको पाँच दिन बराबरको पारिश्रमिक तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिकसमेत बाढी प्रभावित क्षेत्रको राहत तथा विपद् व्यवस्थापनका लागि प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुगेपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले पनि तत्काल आवश्यक राहत सामग्री, उपकरण तथा जनशक्ति परिचालन गरी प्रभावित नागरिकलाई सहयोग गर्ने जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १४, आईतवार ०६:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP