• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

बाढीपीडितका नाममा व्यक्तिगत खातामा रकम जम्मा नगर्न जिल्ला प्रशासन काभ्रेकाे आग्रह

बाढीपीडितका नाममा व्यक्तिगत खातामा रकम जम्मा नगर्न जिल्ला प्रशासन काभ्रेकाे आग्रह

काभ्रे । रसुवा, नुवाकोटलगायतका जिल्लामा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढीपीडितलाई सहयोग गर्न चाहने व्यक्ति, संघसंस्था तथा व्यवसायीलाई आधिकारिक माध्यमबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको अत्यन्त जरुरी सूचनामा विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न चाहने महानुभाव तथा संघसंस्थालाई तीनवटा महत्वपूर्ण आग्रह गरिएको छ ।

प्रशासनका अनुसार नगद सहयोग गर्न चाहनेले नेपाल सरकारको ‘दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेका आधिकारिक बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । साथै, जिन्सी सामान नेपाल सरकारले तोकेको स्थानमा आफैंले पुर्याई बुझाउन वा जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालयमा संकलन हुने राहत सामग्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को निर्देशनअनुसार समन्वय गरी पीडित नागरिकसमक्ष पुर्‍याउने व्यवस्था मिलाइने सूचनामा उल्लेख छ ।

त्यस्तै, बाढीपीडितलाई सहयोग पुर्‍याउने भन्दै व्यक्तिगत वा संस्थागत बैंक खाता तथा क्यूआर कोडमार्फत रकम संकलन नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ । कसैले त्यस्तो गतिविधि गरेको पाइएमा तत्काल जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC), नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले विपद्को यस कठिन अवस्थामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न चाहने सबैलाई आधिकारिक र पारदर्शी माध्यमबाट सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचनाले बाढीपीडितका नाममा हुन सक्ने अनधिकृत रकम संकलन तथा ठगी नियन्त्रण गर्दै वास्तविक पीडितसम्म राहत पुर्‍याउने उद्देश्य लिएको देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १३, शनिबार १२:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP