कालाेटाेपी डटकम
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गम्भीर चासो व्यक्त गर्दै उद्धार, खोजी, उपचार तथा राहतका कामलाई तीव्रता दिएको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय र सहकार्य गर्दै राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्। सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा रहेको उनले बताएका छन् ।
७ हजार ५१४ जनाको उद्धार
प्रधानमन्त्री शाहका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद प्रभावित क्षेत्रबाट शनिबार साँझ साढे पाँच बजेसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धार प्रयास जारी राखेको छ । उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन् ।
उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरिएको छ । ती हेलिकप्टरले हालसम्म २३६ वटा उडान गरिसकेका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। थप सुरक्षाकर्मी तथा हेलिकप्टर तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान गर्न नसकिएको भन्दै सरकारले उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च तथा प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरेको छ ।
मोबाइल अस्पतालमार्फत उपचार
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ । अन्य घाइतेका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ । काठमाडौं तथा अन्य स्थानबाट पुगेका विशेषज्ञ चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेली क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिरहेको सरकारले जनाएको छ । घाइते तथा उनीहरूका परिवारलाई मनोपरामर्श सेवासमेत दिइएको छ । अस्पतालमा रगतको सहज उपलब्धता सुनिश्चित गर्न सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ ।
१८ वटा राहत शिविर स्थापना
उद्धार गरिएका घाइतेबाहेक प्रभावित नागरिकको व्यवस्थापनका लागि रसुवामा ३ र नुवाकोटमा १५ गरी १८ वटा शिविर स्थापना गरिएको छ । बाढीका कारण विस्थापित करिब ३ हजार ५०० नागरिकलाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ । राहत सामग्री संघीय सरकारले निरन्तर पठाइरहेको तथा नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब र विभिन्न स्वयंसेवी संस्थाका संयन्त्रसमेत परिचालन गरिएको सरकारले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ ।
प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा
विपद् प्रभावितका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत आर्थिक सहयोग संकलन गरिरहेको छ ।प्रधानमन्त्री शाहका अनुसार शनिबार मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ ।
सरकारले राहतका नाममा हुन सक्ने वित्तीय ठगीबाट जोगिन आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का आधिकारिक खातामार्फत मात्र सहयोग गर्न आग्रह गरेको छ । राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र तथा बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा संकलन भइरहेको छ । संकलित सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टार र रसुवाको उत्तरगयालगायतका स्थानमा पुर्याएर प्रभावित क्षेत्रमा वितरण भइरहेको छ । शनिबार एमआई–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चे पुर्याइएको छ ।
अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता
विपद् प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको सरकारले जनाएको छ । एशियाली विकास बैंक (एडीबी)बाट ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर नगद सहयोगको प्रतिबद्धता आएको छ ।
भारतबाट तीन चरणमा हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ । चीन र अमेरिकाबाट पनि मानवीय सहायता आउने क्रममा रहेको तथा चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको सरकारले जनाएको छ । भारत र चीनबाट शव व्यवस्थापनका लागि २ हजार–२ हजार वटा एयरटाइट ब्याग प्राप्त भएको छ । स्वीट्जरल्याण्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १० लाख स्वीस फ्र्याङ्क सहयोग प्राप्त भएको छ ।
अधिकांश सञ्चार टावर सञ्चालनमा
बाढीका कारण प्रभावित क्षेत्रमा नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय टावरमा भौतिक क्षति पुगेको तथा कतिपयमा विद्युत् अभावका कारण सेवा बन्द भएको सरकारले जनाएको छ । हेलिकप्टर तथा सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर पुर्याएर टावर सञ्चालनमा ल्याउने काम गरिएको छ । हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत भइरहेको छ ।
वैकल्पिक सडकबाट रसुवा र धादिङ जोडिए
मुख्य सडकमा बाढीले क्षति पुर्याएपछि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ । काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ । यससँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । यस्तै पृथ्वी राजमार्गको गल्छी–मलेखु १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो हटाएर राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको छ । धादिङबेसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको सरकारले जनाएको छ ।
६७५ शव फेला
हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेको सरकारले जनाएको छ । फेला परेका शवलाई एयरटाइट ब्यागमा राखेर व्यवस्थापन भइरहेको छ । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ अनुसार शव व्यवस्थापन गरिने जनाइएको छ । पहिचान गर्न नसकिएका शवको डीएनए लगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखिने र परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई बुझाउने काम भइरहेको सरकारले स्पष्ट पारेको छ ।
‘भ्रम फैलाउनेभन्दा सत्य–तथ्य सूचना दिनुस्’
प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा स्वयंसेवी संस्थाले देखाएको धैर्यता, तत्परता र सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले विपद्का बेला समाजले भरोसा, सही दिशा र सत्य–तथ्य खोज्ने भएकाले पीडितको जीवनरक्षा तथा मनोबल बढाउने गरी सूचना प्रवाह गर्न आमसञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको साथमा रहेको र उद्धार तथा पुनःस्थापनाका काम नतिजा नआएसम्म निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया