• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

पक्षघात पीडित चौरीदेउरालीकी माईली विकलाई जिल्ला प्रशासन काभ्रेद्वारा घरमै पुगेर नागरिकता

पक्षघात पीडित चौरीदेउरालीकी माईली विकलाई जिल्ला प्रशासन काभ्रेद्वारा घरमै पुगेर नागरिकता

कालोटोपी डटकम
काभ्रे । शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सेवा लिन असमर्थ काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ निवासी ५५ वर्षीया माईली विकलाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरिएको छ । पक्षघातका कारण लामो समयदेखि हिंडडुल गर्न नसक्ने अवस्थामा रहनुभएकी विकलाई भदौ १३ गते जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नेतृत्वमा पुगेको टोलीले उहाँकै निवासमा नेपाली नागरिकता प्रदान गरेको हो ।

नागरिकता लिन कार्यालयसम्म आउन कठिनाइ हुने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले घरदैलोमै पुगेर सेवा प्रदान गरेको जनाएको छ । उक्त सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत सापकोटासँगै नायब सुब्बा राजकुमार तामाङ, सहलेखापाल विवस खत्री तथा कार्यालय सहयोगी विदुर पराजुली खटिनुभएको थियो ।

घरमै नागरिकता वितरण गर्ने क्रममा चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईं तथा वडा नं. १ का वडाध्यक्ष सुशील लामासमेत सहभागी हुनुभएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सेवाग्राहीको सहजताका लागि घरदैलोमै प्रशासन
सरकारी सेवा लिन कार्यालयसम्म पुग्न नसक्ने अशक्त, ज्येष्ठ नागरिक तथा विशेष परिस्थितिमा रहेका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेले समय–समयमा घरदैलोमै पुगेर नागरिकता तथा अन्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कार्यालयका अनुसार नागरिकको अवस्था र आवश्यकताका आधारमा आगामी दिनमा पनि यस्ता सेवा निरन्तर उपलब्ध गराइनेछ । राज्यबाट प्राप्त गर्नुपर्ने आधारभूत सेवाका लागि शारीरिक अवस्थाका कारण कुनै नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले घरमै पुगेर नागरिकता वितरण गरिएको प्रशासनले कालोटोपी डटकमसँगकाे कुराकानीमा जनाएकाे छ । यस प्रकारको सेवाले कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई प्रत्यक्ष राहत पुग्नुका साथै ‘सेवाग्राही कार्यालयमा होइन, आवश्यकताअनुसार सेवा नागरिकको घरदैलोमा’ भन्ने प्रशासनिक सेवाको भावनालाई समेत बलियो बनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १३, शनिबार १४:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP