काठमाडाैँ। हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ।
यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो । इजरायलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेको छ।
बाँकी २८ जनाको मृत्यु भएको ठानिएको र उनीहरूको शव पनि सोमबारसम्म फिर्ता गरिने हमासले जनाएको छ। सोमबार अबेर जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सेनाले सोमबार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ।
विपिन कसरी पुगेका थिए ?
अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।
कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए।बीबीसी नेपालीबाट
प्रतिक्रिया