महोत्तरी। सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ। जीवन पद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।
खरना अन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सखर, दूध र गम्हरी चामल (मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल)को खीर पकाइन्छ। राति त्यही खीर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले खाने गर्छन् ।
कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । खरनामा नैवेद्य चढाइने बेलामा जति अर्घ्य दान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मुला, पान र सुपारी आदि राखिन्छ । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ पछि ब्रतालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्छन् ।
याे पनि
प्रतिक्रिया