काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट हालसम्म ७३४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा रहेका ९३३ जना, मकवानपुरका ६५ जना, सम्पर्कविहीन विदेशी नागरिक ५८९ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जनासहित विभिन्न स्थानका नागरिक रहेका छन् ।
बाढीबाट सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको विवरणमा उल्लेख छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको मृत्यु भएको जनाइएको छ । बाढी तथा विपद्बाट प्रभावित २४२ जना घाइते भएका छन् । उनीहरूको उपचार तथा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
८ हजारभन्दा बढीको उद्धार
विपद्मा परेका नागरिकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल निरन्तर परिचालन भइरहेका छन् । हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बल नेपालले २ हजार ५१३ जनाको उद्धार गरेको विवरणमा उल्लेख छ । त्यस्तै, जलविद्युत् आयोजनाको सुरुङबाट भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जनासहित जम्मा २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हालसम्म २२७ जना विदेशी नागरिकको समेत हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
१९ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन प्रभावित क्षेत्रमा १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी रहेका छन् ।
प्रभावित जिल्लामा नगद राहत
नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवालाई १ करोड रुपैयाँ, नुवाकोटलाई १ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।
राहत सामग्री र इन्धनको आपूर्ति जारी
प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पुर्याउने काम पनि जारी रहेको छ । हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत ७ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ । प्राधिकरणका अनुसार ठूलो परिमाणमा खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने सडक तथा स्थलमार्गबाट सम्भव नभएका स्थानमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउने काम भइरहेको छ । त्यस्तै, प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन विभिन्न पेट्रोलियम भण्डारण तथा वितरण केन्द्रबाट डिजेल र पेट्रोल उपलब्ध गराइएको छ । हवाई उद्धार तथा राहत कार्यका लागि आवश्यक हवाई इन्धनसमेत व्यवस्थापन गरिएको छ ।
पहिचान हुन नसकेका शव अस्पतालमा
पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । पहिचान तथा आफन्तको खोजीसम्बन्धी थप विवरणका लागि प्राधिकरणको आधिकारिक सामाजिक सञ्जाल तथा नेपाल प्रहरीको विपद् पोर्टलमार्फत जानकारी लिन आग्रह गरिएको छ । प्राधिकरणले विपदबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै सम्बन्धित सबै निकायबीच समन्वय गरेर काम भइरहेको जनाएको छ ।
स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भदौ १४ गते बिहान बजेसम्मको अद्यावधिक विवरण ।
प्रतिक्रिया