• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बालकथा : ‘बाढीले सिकाएको पाठ’

बालकथा : ‘बाढीले सिकाएको पाठ’

केशव बैरागी माइलो

अमेरिका । गाउँका मुखिया बा एक साँझ बुढो पीपलको रुखमुनि बसेका थिए । वरिपरि गाउँका केटाकेटीहरू गोलो घेरा बनाएर बसेका थिए । हल्का हावा चलिरहेको थियो । सबैको आँखामा कौतूहल थियो ।
“बा ! आज एउटा कथा सुनाउनुहोस् न !” एउटा बालकले भन्यो ।
मुखिया बाले गहिरो सास फेरे । केही क्षण आकाशतिर हेरेर भने, “आज म तिमीहरूलाई एउटा यस्तो गाउँको कथा सुनाउँछु, जुन गाउँलाई केही मिनेटको बाढीले सधैँका लागि बदलिदियो ।”
केटाकेटीहरू बाढीको कथा भन्नासाथ चुपचाप भए ।
एक बिहान चीन र नेपालको सीमावर्ती पहाडतिरबाट अचानक ठूलो आवाज आयो, तर गाउँका मानिसहरूलाई त्यसको अर्थ थाहा थिएन । त्यो बिहान अरू दिन जस्तै सुरु भएको थियो । बालबालिकाहरू विद्यालय जानका लागि झोला तयार गर्दै थिए । कोही जुत्ता लगाउँदै थिए । किसानहरू खेतबारीतिर जाने तयारीमा थिए । कोही गाईलाई घाँस हाल्दै थिए । कोही पसल खोल्दै थिए ।

कसैलाई थाहा थिएन, त्यो बिहान उनीहरूको जीवनकै सबैभन्दा दुःखद बिहान बन्नेछ भनेर । अचानक पहाडतिरबाट ठूलो गर्जन सुनियो ।
“बाढी ! बाढी आयो !” कसैले चिच्यायो । हेर्दाहेर्दै ठूलो भेल गाउँतिर आयो । पानीसँगै ढुङ्गा, माटो र रूखहरू बगिरहेका थिए । मानिसहरू ज्यान जोगाउन दौडिए । कसैको घर भत्कियो । कसैको गोठ बग्यो । गाईबस्तुहरू पानीको भेलमा हराए । मानिसहरूले माया गरेर पालेका कुकुर र बिरालाहरू पनि कहाँ पुगे, कसैलाई थाहा भएन ।

कति परिवार एकैछिनमा छुट्टिए । कसैका वृद्ध बा छुटे, कसैकी आमा छुटिन् । विद्यालय जान तयार भएका कतिपय बालबालिकाका झोला किनारमै रहे तर उनीहरूको भविष्य बाढीले अनिश्चित बनाइदियो । केही मिनेटमै हाँसिरहेको गाउँ रुवाबासीले भरियो ।
“बचाऊ! बचाऊ ! मेरो परिवार कहाँ छ ? मेरो घर बग्यो !”
चारैतिर हारगुहार र पीडाका आवाज सुनिन्थे । ठूलाठूला घरहरू भत्किए । नाकामा राखिएका गाडीहरू पनि पानीको भेलले बगायो । सडकहरू टुटे । पुलहरू कमजोर भएर बग्न थाले ।
गाउँको रूप नै एकैछिनमा बदलियो । सरकार र विभिन्न सहयोगीहरू पीडितलाई सहायता गर्न आए । मानिसहरूलाई सुरक्षित ठाउँमा लगियो । खाना, पानी र आवश्यक सामग्रीको व्यवस्था गर्न थालियो । कथा भन्दै जाँदा मुखिया बाको अनुहार झन् गम्भीर भयो ।

एउटी बालिकाले सोधिन्, “बा, त्यसपछि सबैले एकअर्कालाई सहयोग गरे ?”
मुखिया बाले कारुणिक स्वरमा भने, “धेरैले गरे, नानी ! तर दुःखको बेला पनि केही मानिसको मनमा लोभ जाग्यो । बाढीले बगाएर दिवंगत भएका मानिसका गरगहनासमेत लुछ्न भ्याए । केही मानिस बाढीले ल्याएका सामान जम्मा गर्न भेलतिर दौडिए । पीडामा परेका मानिसलाई सहयोग गर्नुपर्ने बेला उनीहरू आफ्नै स्वार्थ खोजिरहेका थिए ।”
त्यो देखेर गाउँका एक वृद्धले भनेछन्, “प्राकृतिक विपत्तिले गाउँ बगायो तर लोभले केही मानिसको मानवता बगायो ।”
केटाकेटीहरू भावुक भए । केही समयपछि अर्को जिल्लामा पनि ठूलो बाढी आउन सक्ने चेतावनी आयो । सरकार र सुरक्षाकर्मीहरूले मानिसहरूलाई सुरक्षित ठाउँमा जान अनुरोध गरे । नदीको किनार र पुलमा नजान सूचना दिइयो ।

धेरै मानिस सुरक्षित ठाउँमा गए । केहीले भने चेतावनीलाई खेल ठाने । “हेरौँ न, कस्तो बाढी आउँदो रहेछ !” भन्दै केही मानिस पुलतिर गए । कसैले मोबाइल निकाले । कसैले तस्बिर र भिडियो खिच्न थाले ।
एक मानिसले भने, “सेल्फी खिचौँ ! यस्तो मौका फेरि पाइँदैन ।” उनीहरूले प्रकृतिको खेल बुझेनन् । अचानक आएको भेलले उनीहरूलाई भाग्ने समय पनि दिएन । केहीले अटेर गर्दा ठूलो दुःखद घटना भयो ।
मुखिया बाले कथा रोक्दै केटाकेटीतिर हेरे र भने, “मेरा नानीहरू ! विपत्तिको चेतावनीलाई कहिल्यै मजाक नठान्नु । बाढी, पहिरो वा अन्य प्राकृतिक विपत्तिको समयमा सुरक्षित ठाउँमा जानुपर्छ । आफ्नो ज्यानभन्दा ठूलो कुनै तस्बिर, भिडियो वा सामान हुँदैन ।”

एउटा बालकले सोध्यो, “बा, अनि सबैभन्दा ठूलो कुरा के हो ?”
मुखिया बा त्यो प्रश्न सुनेर थोरै मुस्कुराए, तर उनको आँखामा पीडा थियो ।
“सबैभन्दा ठूलो कुरा मानवता हो, बाबु । विपत्तिमा अरूको दुःखमाथि आफ्नो फाइदा खोज्नु हुँदैन । सकेसम्म उद्धारकर्मीलाई सहयोग गर्नुपर्छ । गलत काम गर्ने होइन, सही सूचना फैलाउने हो । सबैभन्दा पहिले आफू सुरक्षित हुने र अरूलाई सुरक्षित रहन सहयोग गर्ने हो ।”
झमक्क साँझ परिसकेको थियो केटाकेटीहरू बिस्तारै उठे । उनीहरूका मनमा मुखिया बाको एउटा वाक्य गहिरोसँग बसिसकेको थियो । “विपत्ति आउँदा नदीको भेल मात्र खतरनाक हुँदैन, मानिसको मनमा उठेको लोभको भेल पनि त्यत्तिकै खतरनाक हुन्छ ।”
पीपलको रुखका पातहरू हल्लिरहेका थिए । मुखिया बा मनमनै प्रार्थना गरिरहेका थिए, “हे प्रकृति ! हामीलाई विपत्तिबाट जोगाऊ र विपत्ति आए पनि हाम्रो मानवता नबगाऊ ।”



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १४, आईतवार २१:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP