बनेपा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–६, काभ्रेले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
संस्थाका अनुसार बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको सहयोगका लागि सरकारले आह्वान गरेको सहयोग अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रदान गरिएको हो । सहकारीले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष कैलाश के.सीद्वारा जारी विज्ञप्तिमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
सहकारीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएकाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो सहयोगले विपद्बाट प्रभावित परिवारको उद्धार तथा राहतमा केही भए पनि योगदान पुग्ने विश्वास लिएको छ ।
प्रतिक्रिया