• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

नवकान्तिपुर बचत तथा ऋण सहकारीको २९औँ वार्षिक साधारण सभा दुई चरणमा हुने

नवकान्तिपुर बचत तथा ऋण सहकारीको २९औँ वार्षिक साधारण सभा दुई चरणमा हुने

काठमाडौँ । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारण सभा दुई चरणमा आयोजना गर्ने भएको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार साधारण सभा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र तथा सदस्यको क्षेत्रअनुसार छुट्टाछुट्टै मितिमा आयोजना गर्न लागिएको हो ।

संस्थाको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिले गरेका विभिन्न निर्णयको अनुमोदन, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरणसम्बन्धी प्रस्ताव पनि साधारण सभामा प्रस्तुत हुने संस्थाले जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम एवं बजेटमाथि छलफल गरी पारित गर्ने, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा प्रमुख कार्यकारी अधिकृतको भत्ता, सेवा सुविधा एवं पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावसमेत समावेश छन् । यसैगरी संस्थाको आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, साधारण सभाको एकाइ बैठकका निर्णय प्रमाणित गर्ने प्रतिनिधिहरूको चयन, साधारण सभाको एकाइ प्रतिनिधिहरूको संख्या निर्धारण तथा प्रतिनिधिहरूको चयनलगायतका विषयमा समेत निर्णय हुने जनाइएको छ ।

दुई चरणमा साधारण सभा
संस्थाले सार्वजनिक गरेको कार्यक्रमअनुसार पहिलो चरणको साधारण सभा २०८३ साल भदौ २७ गते शनिबार आयोजना हुनेछ । यस चरणमा काठमाडौं जिल्ला तथा काठमाडौं महानगरपालिकाका वडा नं. १, ३, ४, ५, ६, ७, ८ तथा तारकेश्वर, टोखा, बुढानीलकण्ठ, शंखरापुर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका क्षेत्रका सदस्यहरू सहभागी हुनेछन् । पहिलो चरणको सभा बिहान ८ बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा हुने संस्थाले जनाएको छ ।

त्यसैगरी दोस्रो चरणको साधारण सभा असोज ३ गते शनिबार आयोजना हुनेछ । उक्त चरणमा भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाका वडा नं. १, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ तथा नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका क्षेत्रका सदस्यहरू सहभागी हुनेछन् । दोस्रो चरणको सभा पनि बिहान ८ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित न्हुजा पार्टी प्यालेसमा हुने सूचनामा उल्लेख छ ।

सदस्यलाई सक्रिय सहभागिताको आग्रह
संस्थाले साधारण सभासम्बन्धी सूचना कार्यालयको सूचना पाटी, आधिकारिक फेसबुक पेज तथा वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ । साथै सदस्यहरूको आधिकारिक मोबाइल नम्बरमा एसएमएसमार्फत समेत सूचना पठाइने व्यवस्था गरिएको छ । साधारण सभाको कार्यसूची तथा आवश्यक प्रतिवेदन संस्थाको वेबसाइटबाट डाउनलोड गर्न सकिने वा संस्थाको कार्यालय तथा आधिकारिक प्रतिनिधिमार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।

संस्थाले साधारण सभा सहकारीको वार्षिक गतिविधि, आर्थिक अवस्था, आगामी नीति तथा कार्यक्रम र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण हुने भएकाले सम्बन्धित सम्पूर्ण सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९औँ वार्षिक साधारण सभामार्फत विगतको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट तय गर्ने तथा संस्थाको भावी कार्यदिशासमेत निर्धारण गर्ने जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २९, शुक्रबार २१:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP