• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७ लाख ६२ हजार सहयाेग

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७ लाख ६२ हजार सहयाेग

काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले १७ लाख ६२ हजार ९ सय ५७ रुपैयाँ सहयोग गरेको छ । काभ्रे कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित परिवारको सहयोगका लागि रकम संकलन गरिएको पार्टीले जनाएको छ ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाका अनुसार पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट रकम संकलन गरी केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो । उहाँसहितको टोलीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको हो । कांग्रेसका अनुसार केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि परिचालन गरिनेछ । यसअघि नेपाली कांग्रेसले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले विपद्को समयमा पीडित नागरिकका लागि काभ्रे कांग्रेसले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संकटको समयमा मानवीय सहयोग जुटाउनु र पीडितको साथमा उभिनु महत्वपूर्ण भएको बताउनुभयो । काभ्रे कांग्रेस सभापति लामाले प्राकृतिक विपद्को कठिन अवस्थामा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । राहत तथा उद्धारका लागि गरिएको सहयोगले विपदबाट प्रभावित परिवारको पीडामा केही भए पनि मल्हम लगाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, सरकारले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन तथा अभिलेखीकरणको काम अघि बढाइरहेको छ । उपलब्ध पछिल्लो विवरणअनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको जनाइएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रमसमेत जारी रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १५, सोमबार १४:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP