बनेपा । काभ्रे जिल्ला बचत संघ लि. को वार्षिक कार्यक्रम अन्तर्गत “आधारभूत वित्तीय व्यवस्थापन तालिम” जेठ २७ गते बुधबार संघको तालिम हल, बनेपा–७ मा सम्पन्न भएको छ । तालिममा बनेपा नगरपालिका–४ स्थित दुमो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन तहका प्रतिनिधिहरू गरी जम्मा १९ जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष उदयराम कायस्थले सहकारी संस्थाको दिगोपना, पारदर्शिता तथा सदस्यको विश्वास अभिवृद्धिका लागि प्रभावकारी वित्तीय व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले सहकारी संस्था सञ्चालन गर्दा सुशासनका सिद्धान्त, सहकारी ऐन, नियमावली, विनियम तथा प्रचलित निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । साथै, जिल्ला बचत संघको आवश्यकता, भूमिका तथा सदस्य संस्थाहरूको क्षमता अभिवृद्धिमा संघले निर्वाह गर्दै आएको योगदानबारे पनि प्रकाश पार्नुभयो ।
तालिममा संघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकाल तथा सहायक कार्यकारी अधिकृत रविकुमार के.सी. ले संस्थागत जोखिम व्यवस्थापन, दिगो विकासका आधारहरू, वित्तीय व्यवस्थापनका सिद्धान्त तथा व्यवहारिक पक्षलगायतका विषयहरूमा प्रभावकारी सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले विषयवस्तु उपयोगी, व्यवहारिक तथा संस्थाको व्यवस्थापन सुदृढीकरणमा सहयोगी रहेको प्रतिक्रिया व्यक्त गरेका थिए ।
समापन सत्रमा दुमो साकोसका अध्यक्ष जीवन मंग्रान्तीले तालिम अत्यन्त उपलब्धिमूलक, ज्ञानवर्धक तथा प्रभावकारी रहेको उल्लेख गर्दै कार्यक्रमको सफल आयोजनाका लागि आयोजक संघ, प्रशिक्षकहरू तथा व्यवस्थापन पक्षप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया