बनेपा । बालमैत्री स्थानीय शासन (CFLG) कार्यान्वयन तथा आवश्यक कागजात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले बनेपा नगरपालिकाले दुई दिने फाइल सूची तयारीसम्बन्धी तालिम सञ्चालन गरेको छ।
तालिममा नगरपालिकाका १४ वटै वडाबाट CFLG वडा सम्पर्क व्यक्ति तथा CFLG वडा जिम्मेवार कर्मचारी गरी प्रत्येक वडाबाट दुई जनाका दरले जम्मा २८ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला शाखा प्रमुख भगवती तामाङ, बालमैत्री सहजकर्ता हरिचन्द्र घिमिरे लगायतले प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा बालमैत्री स्थानीय शासनका सूचकअनुसार आवश्यक कागजातको व्यवस्थापन, अभिलेखीकरण तथा फाइल सूची तयारीका विषयमा सहजीकरण गरिएको थियो ।
महिला विकास निरीक्षक सपना ओलीले यस्ता तालिमले वडाको तल्लो तहमा रहेर काम गर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धि हुने बताउनुभयो। उहाँका अनुसार बालमैत्री वडा तथा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीस्वरूप उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
तालिममा सहभागीहरूले कार्यक्रम निकै प्रभावकारी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा बनेपा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेशकुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य ज्ञानमणि नेपाल (कालोटोपी) लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
बनेपा नगरपालिकाले बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयन तथा बाल अधिकार सुनिश्चितताका लागि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया