• २०८३ असार ३० | Tue, 14 Jul 2026

काभ्रेपलाञ्चोक पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, १३ वटै पालिका शतप्रतिशत पूर्ण खोपयुक्त

काभ्रेपलाञ्चोक पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, १३ वटै पालिका शतप्रतिशत पूर्ण खोपयुक्त

ज्ञानमणि नेपाल कालाेटाेपी
धुलिखेल, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा साेमबार सम्पन्न कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले काभ्रेलाई औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता जिल्ला खोप समन्वय समितिका प्रमुख दिपककुमार गौतमले गर्नुभएको थियो । जनस्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

काभ्रेपलाञ्चोकमा १६ देखि २३ महिनासम्मका ३ हजार १५५ जना बालबालिकामध्ये ३ हजार १५५ जनाले नै पूर्ण खोप प्राप्त गरेका छन् । तीमध्ये ३ हजार १५० जनाले समयमै खोप कार्डअनुसार सबै खोप पूरा गरेका छन् भने ५ जनाले खोप कार्ड नभए पनि पूर्ण खोप पाएको तथ्यांकमा उल्लेख छ । कुनै पनि बालबालिका छुटेका छैनन् ।

जिल्लामा सबैभन्दा पहिले गत चैत २५ गते नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको थियो भने अन्तिममा असार ८ गते बनेपा नगरपालिका घोषणा भएसँगै काभ्रेका १३ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित भएका हुन् । तथ्याङ्कअनुसार नमोबुद्ध नगरपालिकामा १८४, मण्डनदेउपुर नगरपालिकामा २१२, भुम्लु गाउँपालिकामा १२४, पाँचखाल नगरपालिकामा २८५, तेमाल गाउँपालिकामा ८३, रोशी गाउँपालिकामा १३०, पनौती नगरपालिकामा ५८४, चौरीदेउराली गाउँपालिकामा ५७, महाभारत गाउँपालिकामा १३४, खानीखोला गाउँपालिकामा १३६, बेथानचोक गाउँपालिकामा १३१, धुलिखेल नगरपालिकामा ३१४ र बनेपा नगरपालिकामा ७८१ जना १६ देखि २३ महिनाका बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिपक गौतमले पूर्ण खाेप सुनिश्चितता घोषणा केवल घाेषणा मात्र नभइ उत्सव भएकाे बताउँदै काभ्रेपलाञ्चोकले खोप अभियान पूरा गरेर एउटा पुण्य कमाएको उल्लेख गर्नुभयाे । अब यसको दिगोपना कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उहाँले बताउनुभयो । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खोपको महत्वबारे अझै जनचेतना बढाउन आवश्यक रहेको उल्लेख गर्दै नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबै सरोकारवालाको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले पूर्ण खोप सुनिश्चितता गर्न सफल काभ्रे जिल्ला र सम्पूर्ण नागरिकलाई बधाई दिँदै सञ्चारमाध्यमबाट आवश्यक सहयोग गर्न पत्रकार महासंघ सधैँ तयार रहेको बताउनुभयो । पालिकाका तर्फबाट मन्तव्य राख्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले आफ्नो नगरपालिकाले जिल्लामै पहिलो वातानुकूलित खोप केन्द्र सञ्चालनमा ल्याएको र पूर्ण खोप सुनिश्चित विद्यालय पालिका घोषणा गरिसकेको जानकारी दिनुभयो । साथै स्वास्थ्य सेवाको सहज पहुँच विस्तारका लागि सरकारसँग आवश्यक सहयोगको माग गर्नुभयो । यस्तै काभ्रे जिल्ला बाल क्लबका अध्यक्ष आयुष न्यौपानेले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलले जनस्वास्थ्य कार्यालय मातहतका जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले काभ्रेलाई पूर्ण खोप सुनिश्चितता जिल्ला बनाउन योगदान गर्ने सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, विकास साझेदार र नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वागमती प्रदेशका ११९ वटै पालिकामा ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै पछिल्लो समय विभिन्न रोगको जोखिम बढ्दै गएकाले सबै नागरिक सचेत रहनुपर्ने बताउनुभयो । प्रदेश सरकारले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न हवाई स्वास्थ्य सेवासमेत सुरु गरेको उल्लेख गर्दै अझै दुर्गम बस्तीका बिरामीले उपचारमा कठिनाइ भोग्नुपरेको स्वीकार गर्नुभयो ।

कार्यक्रममा काभ्रेका सबै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिती रहेको थियो । साे अवसरमा पूर्ण खोप सुनिश्चितता हासिल गरेका स्थानीय तह तथा उत्कृष्ट योगदान पुर्‍याउने स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले गर्नुभएको थियो । सहभागी वक्ताहरूले पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना कायम राख्न सबै पक्षको निरन्तर प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २९, सोमबार १७:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP