काभ्रेपलाञ्चोक । बर्खायाममा लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा १५० घरधुरीलाई निःशुल्क झुल वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्कको विशेष सहयोग तथा इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिपाघाटको समन्वयमा असार २८ गते सम्पन्न कार्यक्रममा वडा नं. ६ को गैरीबिसौनालगायत आसपासका बस्तीका १५० घरधुरीलाई झुल वितरण गरिएको हो ।
इन्द्रावती सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुबेरकाजी श्रेष्ठका अनुसार बर्खायामसँगै लामखुट्टेको प्रकोप बढ्ने र त्यसबाट डेंगु, मलेरिया लगायतका रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क झुल वितरण गरिएको हो ।
वडा नं. ६ का अध्यक्ष सोमप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमकाजी पोटे, सदस्यहरू सूर्यप्रसाद ढकाल र अर्जुन आचार्य तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
झुल प्राप्त गरेका स्थानीयले यस्तो उपयोगी सहयोग उपलब्ध गराएकोमा हेल्प नेपाल नेटवर्क र इन्द्रावती सामुदायिक सेवा केन्द्रप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया