कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधेश्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् ।
पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटलको काममा लगाई दिन्छु भनी पीडित महिलाहरूलाई होटलमा आउने पुरूषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ । साथै प्रहरीले चार जना पीडितहरूलाई उद्दार गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
बाँके, बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वादविवादको क्रमममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। धनबहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार धनबहादुरको छोराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१ स्थित लेमन ट्री होटलभित्र संचालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४८ वर्षीय दिलिप लामासमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया