काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत अनुदानमा विद्युतीय चुलो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाबीच भएको सम्झौताअनुसार नगरभित्रका २ हजार ६ सय ३८ घरधुरीलाई विद्युतीय चुलो वितरण गर्न लागिएको हो ।
नगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जनजाति तथा एकल महिला लगायत लक्षित वर्गका इच्छुक नागरिकलाई आवेदन दिन आग्रह गरेको छ । सूचना प्रकाशन भएको मितिले ९ दिनभित्र अर्थात् २०८३ जेठ २१ गतेसम्म सम्बन्धित वडा कार्यालयमा रकमसहित निवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
नगरपालिकाका अनुसार विद्युतीय चुलोको कुल मूल्य ४ हजार १ सय ८ रुपैयाँ रहेको छ । जसमध्ये वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ७० प्रतिशत अर्थात् २ हजार ८ सय ७६ रुपैयाँ ८ पैसा व्यहोर्नेछ भने नगरपालिकाले १५ प्रतिशत अर्थात् ६ सय १६ रुपैयाँ ३० पैसा व्यहोर्नेछ । बाँकी १५ प्रतिशत ६ सय १६ रुपैयाँ ३० पैसा रकम उपभोक्ताले स्वयं व्यहोर्नुपर्नेछ ।
सूचनाअनुसार आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ । साथै उपभोक्ताले साझेदारी रकम वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले प्रत्येक वडाका लागि २०० वटा कोटा निर्धारण गरेको जनाएको छ । कुनै वडामा २०० भन्दा बढी आवेदन परेमा बाँकी कोटा बढी माग भएका वडामा वितरण गरिनेछ ।
त्यस्तै, घरमा विद्युत आपूर्ति पुगेको र विद्युतीय चुलो प्रयोगका लागि आवश्यक पूर्वाधार पूरा भएको हुनुपर्ने तथा नगरपालिकाको कुनै आर्थिक वर्षको कर बक्यौता नरहेको हुनुपर्ने शर्त पनि राखिएको छ । एउटै परिवारले एकभन्दा बढी चुलो माग गर्न नपाउने तथा अनुदानमा प्राप्त चुलो बिक्री–वितरण गर्न नपाइने नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा बिक्री गरेको पाइएमा नगरपालिकाबाट प्राप्त अन्य सुविधाबाट समेत वञ्चित गरिने चेतावनी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया