ज्ञानमणि नेपाल कालोटोपी
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित सञ्जीवनी माध्यमिक विद्यालयमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कान्छीमाया तामाङ फाउण्डेशनको आयोजनामा सञ्चालन गरिएको शिविरमा ७० जना स्थानीयवासी तथा सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको फाउण्डेशनले जनाएको छ।
शिविरमा नाक, कान, घाँटी, टाउको दुखाइ, आँखा, दाँत, ढाड दुखाइ तथा घुँडा दुखाइ लगायतका विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको थियो।
स्वास्थ्य परीक्षण फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकर, डा. विवेक चौधरीसहितको चिकित्सक टोलीले गरेको थियो। शिविरमार्फत गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष डा. थोकरले ग्रामीण क्षेत्रका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
यसअघि बिहीबार रामेछापकै खाँडादेवी गाउँपालिका–७ स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट ७९ जनाले सेवा लिएका थिए। फाउण्डेशनले दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया