• २०८३ भाद्र ४ | Thu, 20 Aug 2026

बनेपा नगरवासीको उपचारका लागि चार स्वास्थ्य संस्था तथा अस्पतालसँग सम्झौता

बनेपा नगरवासीको उपचारका लागि चार स्वास्थ्य संस्था तथा अस्पतालसँग सम्झौता

ज्ञानमणि नेपाल कालाेटाेपी
बनेपा । बनेपा नगरपालिकाले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चार स्वास्थ्य संस्था तथा अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतामार्फत मोतियाबिन्दुको उपचार, आँखा जाँच, अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनर्स्थापना, निःशुल्क रगत र स्पाइनल इन्जुरीसम्बन्धी सेवा नगरवासीका लागि सहज बनाउने पहल गरिएको हो ।

नगरपालिकाले रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपासँग मोतियाबिन्दुको उपचार तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको आँखा जाँच गर्ने सम्बन्धमा सम्झौता गरेको छ । त्यसैगरी, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडिसी), बनेपासँग बनेपा नगरपालिकामा स्थायी ठेगाना भएका शारीरिक अपाङ्गता भएका बालबालिकाको अवस्था पहिचान, उपचार तथा पुनर्स्थापना, सहायक सामग्री वितरण, फिजियोथेरापी तथा आवश्यक शल्यक्रियालगायतका सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्तसञ्चार सेवा, बनेपासँग नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने विषयमा समेत सम्झौता गरेको छ । साथै, स्पाइनल इन्जुरी तथा पुनर्स्थापना सेवासँग सम्बन्धित संस्थासँग नगरवासीको उपचारमा सहजीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सम्बन्धित स्वास्थ्य संस्था र अस्पतालका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा स्पाइनल इन्जुरीसम्बन्धी संस्थाका मेडिकल निर्देशक डा. राजु ढकाल, एचआरडिसी अस्पताल बनेपाकी प्रशासन संयोजक सुमिता श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, एसआइएसएनकी कार्यकारी निर्देशक इस्मा थापा, रेयुकाई अस्पतालका महासचिव हिरामणि शर्मालगायतको उपस्थिति थियो । कार्यक्रममा सम्बन्धित संस्था तथा अस्पतालका प्रतिनिधिहरूले आफ्ना संस्थाले प्रदान गर्दै आएका स्वास्थ्य सेवा तथा गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै रेयुकाई अस्पतालका महासचिव हिरामणि शर्माले अस्पतालबाट प्रदान भइरहेका विभिन्न सेवाका बारेमा जानकारी गराएका थिए ।

बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले चारवटै संस्था तथा अस्पतालले बनेपाका नागरिकका लागि पुर्‍याउँदै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै त्यसलाई अतुलनीय योगदानका रूपमा व्याख्या गरिन् । सेवा प्रवाहका क्रममा कुनै समस्या उत्पन्न भएमा नगरपालिकाले आवश्यक सहजीकरण गर्न सधैं तयार रहेको उनले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा बताइन् । नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चालु आर्थिक वर्षमा नगरपालिकाको बजेट घटेको र त्यसको प्रभाव स्वास्थ्य क्षेत्रको बजेटमा समेत परेको बताए । यस्तो अवस्थामा स्वास्थ्य संस्थाहरूसँग गरिएको सम्झौता नगरवासीका लागि कोसेढुंगा सावित हुने उनको भनाइ थियो । बनेपामै यस्ता महत्वपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने संस्था हुनु नगरवासीका लागि भाग्यको विषय भएको उल्लेख गर्दै प्रमुख शाक्यले ती संस्थाहरूले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई बनेपा नगरपालिकाले कहिल्यै नबिर्सने बताए ।

नगरपालिकाका अनुसार सम्झौताबाट विशेषगरी आर्थिक रूपमा विपन्न नागरिक, अपाङ्गता भएका बालबालिका तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने, उपचारमा लाग्ने आर्थिक भार घटाउने तथा आवश्यक उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले यस्ता सहकार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ४, बिहीबार १८:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP