• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

डेंगु अपडेट: काभ्रेमा सङ्क्रमितको संख्या २० पुग्यो, सबैभन्दा धेरै मण्डनदेउपुरमा

डेंगु अपडेट: काभ्रेमा सङ्क्रमितको संख्या २० पुग्यो, सबैभन्दा धेरै मण्डनदेउपुरमा

बनेपा । यस वर्ष पनि काभ्रेमा डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो वर्ष साउन १ देखि भदौ १९ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा धुलिखेलमा एक जना, बनेपामा ५ जना, पनौतीमा एक, पाँचखालमा ३, मण्डनदेउपुरमा ७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै भुम्लुमा ३ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जसमा पुरुषको संख्या ६ र महिलाको संख्या १४ जना रहेको छ ।

उता स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक हप्ताको अवधिमा देशभर २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो सात दिनमा बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणबाट हालसम्म २ जनाको मृत्यु भएको र देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको थियो । सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित देखिएका थिए । गण्डकीमा १ हजार २८, बागमती प्रदेशमा ७८३, लुम्बिनीमा ६४९ र कोशीमा ६२७ सङ्क्रमित भएको तथ्यांक छ । भदौ–असोजको समय डेंगुको सङ्क्रमण धेरै हुने समय हो । भदौ लागेसँगै देशभर डेंगु सङ्क्रमण पनि बढीरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको जनाएको छ। ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १९, बिहीबार १५:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP