धुलिखेल । धुलिखेल अस्पतालले स्वास्थ्य बीमा बोर्डद्वारा जारी गरिएको परिमार्जित सुविधा थैली (Benefit Package) लाई आफ्नो प्रणालीमा समायोजन (System Mapping) गर्न तथा आवश्यक प्राविधिक तयारी र अभिमुखीकरण गर्नुपर्ने भएकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका केही सेवामा अस्थायी व्यवस्था लागू गरिएको जनाएको छ।
अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल स्वास्थ्य बीमा बोर्डले परिमार्जित सुविधा थैली लागू गरेपछि त्यसलाई अस्पतालको प्रणालीमा एकीकृत गर्न केही समय आवश्यक पर्ने भएकाले बीमा अन्तर्गतका सेवाको सञ्चालन तालिका परिवर्तन गरिएको हो ।
सूचनामा उल्लेख भएअनुसार आकस्मिक सेवातर्फको स्वास्थ्य बीमा सुविधा आगामी जेठ १८ गते सोमबारदेखि सञ्चालन हुनेछ । त्यसैगरी नियमित बहिरङ्ग (ओपिडी) तथा अन्तरङ्ग (भर्ना) सेवातर्फको स्वास्थ्य बीमा सुविधा असार १ गतेदेखि लागू गरिने अस्पतालले जनाएको छ । उक्त मितिभन्दा अगाडि यी सेवामा स्वास्थ्य बीमा सुविधा उपलब्ध नहुने स्पष्ट पारिएको छ। यद्यपि स्वास्थ्य बीमाबाहेक अस्पतालका अन्य सम्पूर्ण नियमित सेवाहरू भने साविक बमोजिम निरन्तर सञ्चालन भइरहने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले आफ्नो स्थापित गुणस्तरीय सेवा सुनिश्चित गर्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सहज, व्यवस्थित, दिगो र आर्थिकरूपमा सक्षम बनाउन स्वास्थ्य बीमा बोर्डसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएको छ । यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति अस्पतालले क्षमायाचनासमेत गरेको छ।
अस्पताल प्रशासनले स्वास्थ्य बीमा सेवाग्राहीहरूलाई तोकिएको समयतालिका अनुसार सेवा लिन अनुरोध गर्दै सेवा सञ्चालनसम्बन्धी थप जानकारीका लागि अस्पतालसँग सम्पर्कमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया