काठमाडौँ । आज विश्व मुटु दिवस मनाइँदैछ। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ।
नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ । यो वर्षको नारा मुटुलाई धड्किन दिऊँ भन्ने रहेको छ। नेपालमा वर्षेनी ३० हजार जनाको मुटुरोगका कारण ज्यान गइरहेको तथ्यांक छ । विलासी जीवन, धूमपान, सूर्ती सेवन, उच्चरक्तचाप, मधुमेह, खानामा बोसोको मात्रा अत्यधिक प्रयोगले मुटुरोग निम्त्याउने गर्दछ ।
ज्यान गुमाउने मध्ये एक तिहाइ युवा अवस्थाका छन् । विश्व मुटु महासङ्घका अनुसार विश्वमा बर्षेनी दुई करोड मानिसको मुटु रोगका कारण ज्यान जाने गरेको छ । लामो समयसम्म कुर्सीमा बसिरहने, मोबाइलमा समय बिताउने र निष्क्रिय बस्ने भएकाले युवापुस्ताको मुटु रोगका कारण ज्यान गइरहेको विज्ञहरु बताउँछन् ।
यसैबीच दशैँका बेला हुने अत्यधिक खानपान र शारीरिक सक्रियतामा कमीले मुटुमा असर गर्नसक्ने विज्ञहरुले बताएका छन् । मुटुलाई जोगाउन खानपानमा ध्यान दिनुसँगै शरिरलाई चलायमान् बनाइरहनुपर्ने वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्षेनी दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ ।
यस्तै, नेपाल लगायत विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ । यो कूल जनसङ्ख्याको २५ प्रतिशत हुन आउँछ ।
प्रतिक्रिया