• २०८३ असार ३० | Tue, 14 Jul 2026

सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम, ४५ महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित

सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम, ४५ महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित

सिन्धुपाल्चोक । जिल्लाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवार, सुनकोशीमा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

तालिमको संयोजन जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी जनस्वास्थ्य अधिकृत सुविना श्रेष्ठले गर्नुभएको थियो । तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ, समुदायमा स्वास्थ्य प्रवर्द्धन लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० जना, मेलम्ची नगरपालिकाबाट ७ जना, पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ६ जना, बाह्रविसे नगरपालिकाबाट ६ जना, त्रिपुरासुन्दरी गाउँपालिकाबाट ५ जना, सुनकोशी गाउँपालिकाबाट ४ जना, बलेफी गाउँपालिकाबाट ३ जना, हेलम्बु गाउँपालिकाबाट २ जना तथा इन्द्रावती र लिसंखुपाखर गाउँपालिकाबाट १/१ जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा फेयरमेड फाउन्डेसन सिन्धुपाल्चोकका टिम लिडर डम्बरसिंह गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू, महिला आत्मनिर्भरता केन्द्रकी सचिव कालीमाया वाइबा, सामाजिक परिचालक हिरा थामी तथा ग्रामीण महिला सिर्जनशील परिवारका निर्देशक राजु विश्वकर्मा विशेष अतिथि एवं अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

तालिममा सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू प्रमुख प्रशिक्षक त्यस्तै भवानी कुमारी खड्का, नारायण कुमारी कार्की, सुजना कार्की, होस नारायण राउत तथा स्वस्थानी थामीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

समापन समारोहमा वक्ताहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमा स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई समुदायमा प्रभावकारीरूपमा प्रयोग गर्न आग्रह गरेका थिए। सहभागी स्वयंसेविकाहरूले पनि तालिमले आफ्नो क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २५, सोमबार २०:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP