• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

पनौतीको काभ्रे इङ्गलिश माविद्वारा नयाँ विद्यार्थीलाई स्वागत

पनौतीको काभ्रे इङ्गलिश माविद्वारा नयाँ विद्यार्थीलाई स्वागत

काभ्रे। पनौती नगरपालिका वडा नं. ४ मा अवस्थित, नाफारहित निजी शैक्षिक गुठी काभ्रे शिक्षा विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित काभ्रे इङ्लिश माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

जेठ १४ गते बिहीबार र १५ गते शुक्रबार गरी दुई दिन सञ्चालन गरिएको कार्यक्रममा जेठ १४ गते प्लेग्रुपदेखि कक्षा १ सम्म नयाँ भर्ना भएका १४१ जना तथा जेठ १५ गते कक्षा २ देखि कक्षा ९ सम्म नयाँ भर्ना भएका ४६ जना गरी जम्मा १८७ जना नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गरिएको थियो।

काभ्रे शिक्षा बिकास प्रतिष्ठानका अध्यक्ष जगन्नाथ अवाको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष शान्तिराज कायस्थ तथा सदस्य इन्द्रबहादुर श्रेष्ठको समुपस्थितिले कार्यक्रमको गरिमा र शोभा थप बढाएको थियो। साथै शिक्षक , अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य र अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा प्लेग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, आकर्षक नृत्य, गीत–सङ्गीत, प्रहसन, ब्याण्ड पर्फर्मेन्स तथा अन्य सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता झल्काउने यी प्रस्तुतीहरूले उपस्थित सबैको मन जित्न सफल भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अवालले शिक्षा व्यक्तिको समग्र विकासको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रालाई अघि बढाउन आग्रह गर्नुभयो। उहाँले “आजको सानो प्रयास नै भोलिको ठूलो सफलता हो” भन्दै प्रत्येक विद्यार्थीमा रहेका सम्भावनालाई उजागर गर्न निरन्तर मेहनत र लगनशीलता आवश्यक रहेको बताउनुभयो। साथै, “शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र होइन, उज्ज्वल भविष्य निर्माण गर्ने बलियो आधार हो” भन्ने प्रेरणादायी सन्देशसमेत दिनुभयो।

नयाँ वातावरणमा प्रवेश गरेका विद्यार्थीहरूलाई आत्मविश्वासका साथ सिकाइ यात्रामा अघि बढ्न प्रेरित गर्दै विद्यालयले “हरेक विद्यार्थीभित्र असीम सम्भावना लुकेको हुन्छ, त्यसलाई पहिचान गरी उजागर गर्नु नै शिक्षाको वास्तविक उद्देश्य हो” भन्ने भावनालाई आत्मसात् गर्दै गुणस्तरीय तथा विद्यार्थीमैत्री शिक्षामा प्रतिबद्ध रहेको जनाएको छ।

विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालका अनुसार स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूमा विद्यालयप्रति अपनत्वको भावना विकास गर्नुका साथै उत्साह, आत्मियता र सकारात्मक शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय परिवारसँग घुलमिल हुन तथा आफ्नो प्रतिभा र क्षमताको विकास गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

दुई दिनसम्म सञ्चालन भएको उक्त स्वागत कार्यक्रम हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई विद्यालय जीवनप्रति उत्साहित बनाउनुका साथै विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक, प्रेरणामूलक तथा विद्यार्थी–केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १५, शुक्रबार १७:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP