धुलिखेल, काभ्रेपलाञ्चोक । गणतन्त्र दिवस २०८३ को अवसरमा कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाको पहिचान तथा नसर्ने रोगको समयमै रोकथाम गर्ने उद्देश्यले धुलिखेलस्थित कारागार परिसरमा “नसर्ने रोगको स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण शिविर” सम्पन्न गरिएको छ।
जेठ १५ गते बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा, धुलिखेल नगरपालिका र कारागार कार्यालय काभ्रेपलाञ्चोकको समन्वय तथा व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविन कार्की, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. अर्जुन उपाध्याय, मेथिनकोट अस्पतालका चिकित्सकहरू, जनस्वास्थ्य कार्यालयका अधिकृत बलराम भैल, डा. उर्मिला पौडेल, डा. दीपा आचार्य, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी., धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।
शिविरमार्फत कारागारमा रहेका १७४ जना कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण, नसर्ने रोगको स्क्रिनिङ तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। साथै आवश्यकताअनुसार औषधि वितरण समेत गरिएको जनाइएको छ।
कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य प्रवर्द्धन, नसर्ने रोगहरूको प्रारम्भिक पहिचान तथा समयमै उपचार व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहने सम्भावना भएका कैदीबन्दीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविर सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।
प्रतिक्रिया