• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

मण्डनदेउपुर, काभ्रे । टिपरको अत्याधिक चापका कारण जीर्ण बन्दै गएको काभ्रेकाे जिरोकिलोदेखि सिन्धुपाल्चाेककाे मेलम्ची सडकअन्तर्गत जिरोकिलो–ढाडखोला खण्डको मर्मत तथा पुनः कालोपत्रे कार्य सुरु हुने भएको छ । लामो समयदेखि स्थानीयवासीले सडकको दयनीय अवस्थाबारे गुनासो गर्दै आएका बेला सडक स्तरोन्नतिको काम अघि बढाइएको हो ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले सडक डिभिजन कार्यालय भक्तपुर, निर्माण व्यवसायीका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले आइतबार कार्य प्रारम्भपूर्व स्थलगत नापजाँच तथा अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सडकको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएकाले स्थानीय नागरिकबाट निरन्तररूपमा सडक मर्मत तथा स्तरोन्नतिको माग हुँदै आएको थियो । सोही माग र नगरपालिकाको निरन्तर पहलपछि पुनः कालोपत्रे तथा मर्मत कार्य अघि बढाइएको हो ।

स्थलगत अनुगमनका क्रममा नगरपालिकाको टोलीले सडकमा रहेका जोखिमयुक्त तथा असजिला स्थानहरूको निरीक्षण गर्दै निर्माण पक्षलाई गुणस्तरीय र स्थानअनुकूल काम गर्न आवश्यक सुझाव तथा निर्देशन दिएको उपप्रमुख नेपालले बताउनुभयो ।

विशेषगरी भारी सवारी साधन, विशेषतः टिपरको अत्यधिक आवतजावतका कारण सडक चाँडै बिग्रिएको स्थानीयवासीको गुनासो रहेको छ। वर्षायाममा हिलो तथा खाल्डाखुल्डीका कारण सवारी सञ्चालनमा समेत समस्या हुँदै आएको थियो ।

नगरपालिकाले सडक निर्माण कार्य समयमै सम्पन्न गरी दीगो तथा गुणस्तरीय बनाउनेतर्फ सम्बन्धित निकायलाई सचेत गराइएको जनाएको छ । उपप्रमुख नेपालले निर्धारित समयमै काम सम्पन्न हुने र नागरिकले सुरक्षित तथा सहज यात्रा गर्न पाउने विश्वास व्यक्त गर्नुभयो।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार २०:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP