• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

बनेपामा भएको ग्याङफाइटमा संलग्नहरु प्रहरी नियन्त्रणमा, शर्तसहित अभिभावकको जिम्मा लगाइयो

बनेपामा भएको ग्याङफाइटमा संलग्नहरु प्रहरी नियन्त्रणमा, शर्तसहित अभिभावकको जिम्मा लगाइयो

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–७ स्थित तीनदोबाटो क्षेत्रमा विद्यार्थी समूहबीच भएको झडप (ग्याङ फाइट) सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाको अनुसन्धान गरी संलग्न विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जेठ १३ गते साँझ करिब ५ बजे तीनदोबाटो क्षेत्रमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच झडप भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले तत्काल आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले झडपमा संलग्न बनेपा नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सोधपुछ तथा सम्झाइबुझाइ गरेको जनाएको छ। भविष्यमा यस्ता झडप, असामाजिक तथा उच्छृङ्खल गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गराइएपछि उनीहरूलाई अभिभावक तथा विद्यालय प्रतिनिधिको उपस्थितिमा जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका विद्यार्थीमध्ये कक्षा ९ मा अध्ययनरत २ जना, कक्षा १० मा अध्ययनरत ५ जना र कक्षा ११ मा अध्ययनरत १ जना रहेका छन्। उमेरका आधारमा १५ वर्षका ४ जना, १६ वर्षका ३ जना र १७ वर्षका १ जना विद्यार्थी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अभिभावक, विद्यालय प्रशासन तथा समुदायलाई बालबालिका तथा किशोर–किशोरीहरूको व्यवहार, संगत र गतिविधिप्रति थप जिम्मेवार र सचेत हुन अनुरोध गरेको छ। प्रहरीले यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १४, बिहीबार २०:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP