• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको ८ औं अधिवेशन, नयाँ कार्यसमिति चयन

जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको ८ औं अधिवेशन, नयाँ कार्यसमिति चयन

सिन्धुपाल्चोक । जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको ८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नवराज गुराँगाईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मेनुका तामाङ, सचिवमा दिपकराज डोटेल, सहसचिवमा राजेन्द्र पाण्डे, कोषाध्यक्षमा बुधमाया तामाङ तथा सदस्यहरुमा अम्बिका श्रेष्ठ, सेलदोर्जे दोङ, सेते तामाङ, मुना थामी र सेरबहादुर तामाङ चयन हुनुभएको कार्यक्रम व्यवस्थापक बिश्वराम गुराँगाईले जानकारी दिनुभयो ।

केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीको प्रमुख आतिथ्यता तथा जिल्ला बार सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्रबहादुर थिङको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा भूमि अधिकार, सुकुम्बासी समस्या, लालपुर्जा वितरण तथा बस्ती व्यवस्थापनका विषयमा वक्ताहरुले जोड दिएका थिए ।

प्रमुख अतिथिसमेत रहनुभएका राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीले वास्तविक भूमिहीन र सुकुम्बासी नागरिकको पहिचान गरी उनीहरुको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । भूमिसम्बन्धी समस्या समाधानमा ढिलाइ हुँदा हजारौं नागरिक अझै अन्योलमा रहेको उल्लेख गर्दै उहाँले संगठित आन्दोलन र निरन्तर दबाबमार्फत अधिकार स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।

विशेष अतिथि जिल्ला बार सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्रबहादुर थिङले संविधानले नागरिकलाई भूमिसम्बन्धी अधिकार सुनिश्चित गरेपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो । उहाँले कानुनी प्रक्रिया र आवश्यक कागजातका विषयमा सचेत भएर अघि बढ्न आग्रह गर्दै वास्तविक पीडित समुदायको पक्षमा कानुनी सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय भूमिअधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष पार्वती थामीले देशका ५२ जिल्लामा भूमि अधिकार मञ्च गठन भएर नागरिकहरु आफ्नो अधिकारका लागि संघर्षरत रहेको बताउनुभयो । सरकारले गुठी, मोहियानी लगायत भूमि सम्बन्धी समस्या समाधान गर्नुको सट्टा नागरिकलाई उठिबास लगाउने प्रयास गरेको आरोप लगाउँदै उहाँले सबै एकजुट भएर अधिकारका लागि लाग्नुपर्ने बताउनुभयो ।

मेलम्ची नगरपालिका–१३ का वडा अध्यक्ष श्रीराम घोरासैनीले फटकशिलामा छुट्टै मञ्च गठन गरेर स्थानीय नागरिक आफैं अधिकारको पक्षमा संगठित हुनुपर्ने बताउनुभयो । उहाँले अभियानलाई बलियो बनाउन सबैलाई सदस्य बनेर सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

सामुदायिक आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक सन्तोष केसीले भूमिसम्बन्धी समस्या समाधानका लागि समुदायस्तरबाट सचेतना र समन्वय आवश्यक रहेको उल्लेख गर्दै आफ्ना सुझाव राख्नुभयो ।

नवनिर्वाचित अध्यक्ष नवराज गुराँगाईले जिल्लाका वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अधिकार सुनिश्चित गर्न नयाँ समितिले सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले भूमि अधिकारको सवाललाई गाउँगाउँसम्म पु¥याउँदै पीडित समुदायलाई संगठीत गरिने उल्लेख गर्नुभयो । सरकारले अघि सारेका भूमिसम्बन्धी कार्यक्रम र प्रक्रियाबारे नागरिकलाई सचेत बनाउँदै लालपूर्जा प्राप्तिका लागि आवश्यक सहजीकरण गरिने उहाँको भनाइ थियो ।

त्यस्तै अधिवक्ता माधव ढकालले अभियानमा सहभागी हुनु मात्रै पर्याप्त नभएको भन्दै वास्तविकरुपमा लालपुर्जा प्राप्त गर्ने लक्ष्यसहित लाग्नुपर्ने बताउनुभयो । सरकारले अवसर खुलाएका बेला आवश्यक कागजातको सही सदुपयोग गरेर प्रक्रिया अगाडि बढाउन उहाँले सुझाव दिनुभयो ।

मञ्चका संस्थापक केन्द्रीय अध्यक्ष तथा सल्लाहकार सोमप्रसाद भण्डारीले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित आवास व्यवस्थापन गरेर मात्रै बस्ती खाली गरिनुपर्ने धारणा राख्नुभयो । भूमि अधिकारको आन्दोलनमा राजनीतिक घुसपैठ बढ्न थालेको भन्दै उहाँले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १५, शुक्रबार २१:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP