• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरणमा रोक

मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरणमा रोक

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबार (कात्तिक २०)देखि पानी पथान्तरण रोकिएको हो ।

आज मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन् भने माग पूरा नभएसम्म पानी पथान्तरण गर्न नदिने अडान लिएका छन् ।

यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले जानकारी दिनुभयो ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा बित्तिय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएका घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेबी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका विभिन्न मागहरु राखेका छन् ।

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लैजान नपाइने उनीहरुको भनाइ छ । बाढी पीडितहरुलाई आयआर्जनका कार्यक्रमहरु लागू गर्नसमेत माग गर्दै उनीहरुले १७ बुँदे मागहरूको विषयमा ध्यानाकर्षण गराएका हुन् । आज यसअघि भएका सम्झौता कार्यान्वय गर, मेलम्ची बाढी पीडित जिन्दावाद, पीडितका माग पूरा गर लगायतका नारा लगाएका छन् ।

०८१ असोज २३ गते संघर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच सम्झौता भएको थियो । तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाउनुभएको थियो । ०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाका घरखेत पूर्णरूपमा क्षति भएको थियो । त्यसपछि स्थानीयले विभिन्न माग राख्दै आएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २०, बिहीबार १५:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP