• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

ग्रामीण महिला सिर्जनशील परिवार सिन्धुपाल्चाेकको ३३औँ स्थापना दिवस

ग्रामीण महिला सिर्जनशील परिवार सिन्धुपाल्चाेकको ३३औँ स्थापना दिवस

सिन्धुपाल्चाेक । ग्रामीण महिला सिर्जनशील परिवारले आफ्नो ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा महिला अधिकार, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका १२ जना महिलालाई ‘सिर्जनशील समानता पुरस्कार’ बाट सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा महिला हिंसाविरुद्धको अभियानकी जेन्जी अभियन्ता मनिषा रानामगर, संस्थाकी पूर्वअध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, कान्तिपुरकी सञ्चारकर्मी कमला पाख्रिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरुङ, निवर्तमान उपाध्यक्ष तथा उपप्रमुख भोटेकोशी गाउँपालिकाकी दाबुटी शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सिर्जना तामाङ, लिसङ्खुपाखर गाउँपालिकाकी हेमगंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बलेफी गाउँपालिकाकी कमला कायस्थ र बाह्रबिसे नगरपालिकाकी सुशिला पाख्रिन रहेका छन् ।

संस्थाले महिला अधिकार, लैङ्गिक समानता, हिंसाविरुद्धको अभियान, सामाजिक न्याय तथा जोखिममा रहेका व्यक्ति र समुदायको पक्षमा योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष ‘सिर्जनशील समानता पुरस्कार’ प्रदान गर्दै आएको छ । आफ्नो जीवनमा भोगेका कठिन संघर्ष र चुनौतीलाई शक्तिमा रूपान्तरण गर्दै सामाजिक परिवर्तनमा योगदान पु¥याउने महिलाको काम र नेतृत्वलाई सम्मान गर्नु पुरस्कारको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पूर्व स्थानीय विकासमन्त्री तथा संस्थाका सल्लाहकार अमृतकुमार बोहरासहित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र संस्थाका संस्थापक तथा साधारण सदस्यहरूले ३३ वटा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा संस्थाकी अभियन्ता टिका थापाले सांगीतिक प्रस्तुतिसमेत दिनुभएको थियो ।

ग्रामीण महिला सिर्जनशील परिवारको स्थापना वि.सं. २०५० साल साउन ३२ गते भएको हो । स्थापनाकालदेखि नै संस्थाले ग्रामीण क्षेत्रमा महिलामाथि हुने विभेद, मानव बेचबिखन, आधुनिक दासता तथा हिंसाविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै सामाजिक न्याय र समानताको प्रवद्र्धनमा काम गर्दै आएको छ । साथै, बालबालिका तथा किशोरकिशोरीको शिक्षा र अधिकार संरक्षणका क्षेत्रमा पनि संस्थाले निरन्तर काम गर्दै आएको छ । संस्थापक अध्यक्ष देवी अधिकारीले विभिन्न चुनौतीका बाबजुद समुदायदेखि जिल्लास्तरसम्म बालबालिकाको अधिकार संरक्षण र सामाजिक रूपान्तरणका लागि संस्थाले निरन्तर योगदान दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा महिलाले भोग्दै आएका हिंसा, विभेद र चुनौतीविरुद्ध अग्रज महिलाले गरेका संघर्ष तथा त्यसले वर्तमान पुस्ताको नेतृत्व विकासमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो । वक्ताहरूले महिलाले संवैधानिक अधिकार प्राप्त गर्न र सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गर्न अग्रज महिलाको संघर्ष महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष गीता नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला सभापति माया गुरुङले अग्रज महिलाले सुरु गरेका सचेतना र अधिकारका अभियानले अहिलेको पुस्तालाई नेतृत्वमा आउन महत्वपूर्ण आधार तयार गरेको बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २, मंगलवार १३:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP