ज्ञानमणि नेपाल कालोटोपी
रामेछाप । कान्छीमाया तामाङ फाउण्डेशनको आयोजनामा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालय परिसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ७९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टोलीले शिविरमा सहभागी सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरेको थियो। शिविरमा नाक, कान, घाँटी, टाउको दुखाइ, दाँतसम्बन्धी समस्या, ढाड दुख्ने समस्या तथा आँखासम्बन्धी रोगहरूको जाँच गरिएको थियो। साथै आवश्यकताअनुसार औषधिसमेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।
दूरदराजका स्थानीयवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट लाभान्वित भएका स्थानीयहरूले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा खुसी लागेको बताएका छन्।
स्वास्थ्य सेवा लिन आएका ७५ वर्षीय पदमबहादुर तामाङ, ६८ वर्षीय खिरलाल तामाङ र ५७ वर्षीया कान्छी तामाङलगायतले स्वास्थ्य शिविर सञ्चालन गरेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच सीमित रहेको अवस्थामा यस्ता शिविरले स्थानीय नागरिकलाई ठूलो राहत मिलेको बताएका थिए।

फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।
प्रतिक्रिया