धुलिखेल, काभ्रे । धुलिखेल नगरपालिका वडा नं. २ स्थित रविओपी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाको आयोजना तथा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।
शिविरमा जम्मा १८६ जना नागरिकहरूको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १४ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । उनीहरूलाई थप उपचारका लागि आवश्यक परामर्श तथा रेफरल सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
शिविरमा आँखासम्बन्धी विभिन्न समस्याको जाँच, उपचार परामर्श तथा स्वास्थ्य सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो । स्थानीय बासिन्दाले घर नजिकै विशेषज्ञ चिकित्सकीय सेवा प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
धुलिखेल नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ । आयोजकका अनुसार यस्ता कार्यक्रमले समयमै रोग पहिचान गरी जटिल स्वास्थ्य समस्याबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया