बनेपा । भदाै-असाेजकाे समय डेंगुको सङ्क्रमण धेरै हुने समय हाे । भदाै लागेसँगै देशभर डेंगु सङ्क्रमण पनि बढीरहेकाे छ। काभ्रेमा पनि डेंगु सङ्क्रमित देखा परेका छन् ।
गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे । याे वर्ष साउन १ देखि भदाै १ गतेसम्म ७ जनामा सङ्क्रमण पुष्टि हुँदा मण्डनदेउपुरमा मात्र ५ जनामा सङ्क्रमण देखिएकाे छ भने पाँचखालमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएकाे छ। जसमा पुरुषकाे संख्या २ र महिलाकाे संख्या ५ जना रहेकाे छ ।

उता स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ। एक हप्ताकाे अवधिमा देशभर २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो सात दिनमा बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्क्रमणबाट हालसम्म २ जनाको मृत्यु भएको र देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको महाशाखाले जनाएकाे छ।
गत आर्थिक वर्षमा देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको थियाे । सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित देखिएका थिए । गण्डकीमा १ हजार २८, बागमती प्रदेशमा ७८३, लुम्बिनीमा ६४९ र कोशीमा ६२७ सङ्क्रमित भएकाे तथ्यांक छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेकाे जनाएकाे छ। ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ।
Facebook VideoLoading video...
प्रतिक्रिया